सामाजिक आन्दोलन र सक्रियतामा मिडियाको प्रभाव

  • प्रकाशित मितिः फागुन ९, २०८१
  • 1018 पटक पढिएको
  • संवादताता

खोटाङ, फागुन ९–मिडियाको सामाजिक अभियान र सक्रियतामा पनि उत्तिकै योगदान छ । यसले नीति, कानुन, व्यवहार, राजनीति व्यवस्था लगायत बदल्नुमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
यसबारे सन १९७० को दशकमा ‘रिसोर्स मोबिलाइजेसन थेउरी’ श्रोत परिचालन सिद्धान्तले पहिलेका सिद्धान्तलाई चुनौति दिएपछि भन्यो–‘सामाजिक विघटनले गर्दा सामाजिक अभियान निम्त्याउछ, समाजमा ठगिएका, उपेक्षित समुदायका मानिसले यस्तो अभियान चलाउछन् ।’ अभियान सञ्चालन सफल बनाउन श्रोत र साधन आवश्यक पर्छ । जस्तो अभियान सुरु गर्न, निरन्तर चलाउन, प्रचार–प्रसार गर्न, ऐक्यबद्धता जुटाउन श्रोत आवश्यक पर्छ । श्रोत भनेको पैसा, कार्यकर्ता, सिप, मन मिल्ने संघसंस्था तथा व्यक्तिसंग ऐक्यबद्धता । यसबाहेक सञ्चार माध्यम त अनिवार्य नै छ ।
नेपालको सन्दर्भमा नारीले पढ्न पाउनुपर्छ भनेर सञ्चालन भएको अभियान सफल भयो । महिलाहरु भेला भए, महिलाको पढाइको बारेमा संवाद गरे र पढ्न पाउनु पर्छ भन्ने निष्कर्षमा पुगे । त्यसको फलस्वरुप श्री ३ लाई भेटे र हुन्छ भन्ने बनाए । त्यस्तै २००४ सालमा काठमाडौं नगरपालिकाको चुनाव, नेपालको पहिलो चुनाव हुदा महिलालाई पनि मताधिकार हुनु पर्छ भनि अभियान चलाए ।
अखबार, टेलिभिजन र रेडियो सुरु भएपछि यस्ता सामाजिक अभियान पुराना भए । अखबार, रेडियो, टेलिभिजन सत्ताधारीको कब्जामा थियो । त्यहाँबाट आउने सूचना र विचार एकतर्फी हुन्छन् । त्यहाँ संवाद हुदैन । एकोहोरो कुरा कोच्याइन्छ । त्यत्ति खेरको सामाजिक अभियानमा सघाउ पु¥याएन । सामाजिक अभियान र एक्टिभिजममा पहिलेजस्तो संवाद र परिवर्तनका काममा जनसहभागिता कम भयो । त्यसपछि सामाजिक अधियान सामुहिक सम्पर्क र सम्वन्धमा भर पर्नु पर्ने भयो ।
तर अभियान रोकिएन । एकपछि अर्को विषय थपिदै गयो । २०३०–३१ सालतिर गर्भपतनको विषय पनि आयो । त्यत्तिखेर भने मिडियाले पनि साथ दियो । नेपाल मेडिकल संघको अगुवाइमा देशव्यापी जनमत तयार गर्न अभियान सुरु भयो । सम्वन्धित निकायका पदाधिकारीहरुलाई सहमत गरायो । विभिन्न गोष्ठी, जनशक्ति, पैसा, मिडिया परिचालन गरियो । २०३१ सालताका केही सकारात्मक समाार, विचार प्रस्तुत भयो भने केहीले नकारात्मक ।
त्यसपछि पैतृक सम्पत्तिमा महिलालाई अधिकार दिनुपर्छ भन्ने अभियान सुरु भयो । त्यत्ति खेर पनि नेपाली मिडियाले नकारात्मक भूमिका खेल्यो । सत्ताधारीबाट मिडिया सञ्चालित मिडिया भएकाले नकारात्मक भूमिका देखिएको थियो । अन्य कमैया, कमलरी मुक्ति अभियान पनि सञ्चालन भए ।
सन १९९० को दशकमा इन्टरनेट आयो । व्यक्ति–व्यक्ति बीचको सञ्चारमा क्रान्ति नै ल्यायो । भेटघाटमा भर पर्नु परेन । त्यसमा कुरा मिल्नेहरुको समूह बनाएर सामुहिक रुपमा छलफल गर्न सकिने भयो । सम्पर्क गर्ने पुरानो तरिकाभन्दा यो तरिका छिटो–छरितो भयो । यसले सामाजिक अभियानका कार्यक्रममा उथलपुथल ल्यायो । सार्वजनिक वृत्तको पुरानो अवधारण ब्युझियो । संवाद गर्ने, निष्कर्ष निकाल्ने र परिवर्तनका लागि दबाब दिने प्रक्रिया भयो । सूचना आदान–प्रदानमा पनि क्रान्ति आयो ।
त्यसपछि व्यक्ति–व्यक्तिले ब्लग बनाएर आफ्ना कुरा राख्न सक्ने जमाना पनि आयो । यसले थप फाइदा पुग्यो । फेसबुक, ट्वीटर आदिजस्ता सामाजिक सञ्जाल आएपछि झनै सजिलो भयो । यसले सामाजिक अभियानको स्वरुपलाई पूरै बदल्यो ।
सोसल मिडियाका फाइदा :
सोसल मिडियाले समाजिक विषयमा आफ्ना कुरा राख्न, छलफल गर्न, सामाजिक अभियानमा सहभागी हुन सजिलो भयो । यसले अभियानका सबै पक्षमा क्रान्ति ल्यायो । सोसल मिडियाले प्रचार प्रसार गर्न सहज बनायो । सूचना र विचार व्यक्त गर्न पर्खनु परेन, तत्कालै गर्न सकिने भयो । निर्वाध आवाज उठाउन पाइयो । आवाज धेरैलाई सुनाउन सकियो । सम्पर्क र समर्थन जुटाउन सहज भयो । यी कामका लागि परम्परागत मिडियामा भर पर्नु परेन । उनीहरुको दयामा भर पर्नु परेन । आफूलाई लाभ हुने किसिमले सञ्चार गर्न रसहानुभूति लिन सजिलो भयो । चेतना र शिक्षा फैलाउन सजिलो भयो ।
सोसल मिडियाले सहभागिता जुटाउने र संगठित गर्ने प्रक्रियामा पनि मद्दत ग¥यो । कार्यकर्ता जुटाउन, परिचालन गर्न, परिचालनका क्षेत्र विस्तार गर्न, अभियान सञ्चालनका लागि कुनै ठाउँ, क्षेत्र र देशमा मात्र सिमित रहनु परेन । विश्वव्यापी बनाउन सहज बनायो । सशरीर उपस्थित हुन पनि परेन अभियान चलाउन, सूचना र निर्देशन पु¥याउन मान्छे नै खटिनु परेन, समय र श्रोतसाधन बचत भयो ।
सोसल मिडियाले नेतृत्व गर्न पनि सहज बनायो । पहिले जादुमयी नेतृत्व चाहिन्थ्यो अभियान चलाउन । सञ्चार र परिचालनमा नेताको महत्वपूर्ण भूमिका हुन्थ्यो । अब जादुमयी नेतृत्व नभए पनि हुने भयो । प्रचार–प्रसार र परिचालन विभिन्न तहका नेता र कार्यकर्ताले गर्न सक्ने भयो । पहिलेजस्तो गरी नेता र संस्था नचाहिने भयो ।
सोसल मिडियाका बेफाइदा :
सामाजिक अभियान जटिल विषयमा चलाइन्छ । तर सोसल मिडियामार्फत यो काम हुन थालेपछि जटिल विषयमा सतही ज्ञानका भरमा चल्न थाल्यो । जटिल विषयका अन्तरवस्तु बुझाउन होइन सनसनी फैलाउन जोड दिन थालियो । निश्चित सिद्धान्त नहुनाले अभियान जता पनि जान सक्ने भयो । कसैले पनि घुसपैठ गरेर अभियानलाई असफल बनाउन र बदनाम गर्न सक्ने भयो । अभियान निष्कर्षमा पुग्न नै भन्ने भएन, अलिक समय रमाइलो ग¥यो छाड्यो जस्तो भयो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित