किसानलाई ब्याज अनुदान दिन नगरपालिका र बैंक बीच संझौता (भिडिओ सहित)

  • प्रकाशित मितिः फागुन ७, २०८१
  • 992 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन ७–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका किसानलाई ब्याज अनुदान दिन नगरपालिका र ग्लोबल आइएमइ बैंक बीच संझौता भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०८१÷८२ को बजेटबाट नगरक्षेत्रभित्रका किसानलाई व्याजमा अनुदान दिन नगरप्रमुख तीर्थराज भट्टराई र ग्लोबल आइएमइ बैंकका शाखा प्रवन्धक विप्लव काफ्ले बीच फागुन ६ गते संझौता भएको हो ।
नगरक्षेत्रका कृषि तथा पशुपालन क्षेत्रमा व्यवसायिक रूपमा काम गर्न इच्छुक उद्यमी युवालाई अधिकतम पाँच लाख रूपैयाँसम्मको ऋणमा पाँच प्रतिशत ब्याज अनुदान उपलब्ध गराइने कृषि विकास शाखा प्रमुख तेजप्रकाश जैसीले बताए । ऋण लिने किसानले ऋण चुक्ता भइन्जेलसम्म पाँच प्रतिशतले ब्याज अनुदान पाउने जैसीले सुनाए । जैसीका अनुसार बैंकबाट ऋण लिने किसानले पाँच वर्षसम्म ऋण चुक्ता गरिसक्नु पर्ने छ । ‘कृषि र पशुपालन क्षेत्रमा व्यवसायिक रूपमा काम गर्न इच्छुक उद्यमी युवालाई बढीमा पाँच लाखसम्मको ऋणमा पाँच प्रतिशत ब्याज अनुदान उपलब्ध गराइने छ’ जैसीले भने–‘ऋण चुक्ता नभइन्जेलसम्म नगरले ब्याज बेहोर्छ, ऋण अवधि पाँच वर्षको हुने छ ।’
नगरपालिकाका प्रतिनिधिको संयोजकत्वमा बैंकको प्रतिनिधि, कृषि विकास शाखाका प्रमुख, पशु सेवा शाखाका प्रमुख रहेको अनुगमन समितिले वास्तविक किसानको छनौट गरी त्यसको आधारमा नगरपालिकाले बैंकलाई सिफारिस गर्ने जैसीले जनाए । त्यसैको आधारमा बैंकले ऋण उपलब्ध गराउने प्रावधान राखिएको जैसीले बताए । चालुु आर्थिक वर्ष २०८१÷८२ का लागि ब्याज अनुदान कार्यक्रमका लागि नगरपालिकाले चार लाख ५० हजार बजेट विनियोजन गरेको जैसीले जनाए । ‘चालु आर्थिक वर्ष चार लाख ५० हजार विनियोजन गरिएको छ’–जैसीले भने–‘सालैपिच्छे बजेट विनियोजन हुदै जान्छ ।’
उक्त विनियोजित बजेटबाट करिब दुई करोड रूपैयाँसम्मको ऋणको व्याज धान्न सक्ने बैंक प्रवन्धक काफ्लेले बताए । ‘विनियोजित चार लाख ५० हजारले करिब दुई करोडसम्मको ऋणको ब्याज पुग्ने छ’–काफ्लेले भने ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित