म्याद सकियो, अस्पताल भवन अपूरै (भिडिओ सहित)

  • प्रकाशित मितिः माघ १२, २०८१
  • 1021 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १२–जिल्ला अस्पताल खोटाङको निर्माणाधीन ५० शैयाको भवन बेलामा नसकिदा उपचार गर्न समस्या भएको छ । निर्माण अवधि सकिदा समेत भवन अपूरै हुदा टहरामा उपचार गर्नु पर्ने वाध्यता छ ।
करिब २२ करोड ९० लाख ४७ हजार ९२ रूपैयाँको लागतमा २०८० पुस २४ गतेसम्म सक्ने गरी २०७८ असार २४ गते श्याम सुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले ठेक्का संझौता गरेको थियो । तर उक्त निर्माण अवधिमा काम नसकिएपछि २०८१ मङ्सिर २९ गतेसम्मका लागि ११ महिनाको म्याद थप गरिएको थियो । उक्त अवधिमा पनि भवन नबन्दा उपचार गर्न समस्या भएको अस्पतालका निमित्त प्रमुख डा. रूपेश संग्रौलाले बताए ।
भवन नहुदा बिरामी भर्ना कक्ष, डेलीभरी कक्ष, शल्यक्रिया कक्ष, आकस्मिक कक्ष लगायतका सेवा टहरामा दिनु पर्ने अवस्था छ । शैया अभावले अस्पताल भर्ना भएका बिरामी नजिकको होटल तथा आफन्तको कोठाबाट धाएर समेत उपचार गराउन बाध्य छन् ।
निर्माणाधीन भवनमा विद्युतीकरण, झ्याल ढोका, सिलिङ, पानी, लिफ्ट लगायतका थुप्रै काम बाँकी देखिन्छ । उक्त कामका लागि सामग्री नै नभएकाले ढिला भएको निर्माणमा संलग्न कामदारहरूको भनाई छ ।
गत साउन २७ गते भएको सर्वपक्षीय बैठकमा निर्माण कम्पनीको लापरबाहीका कारण भवन निर्माणमा ढिला सुस्ती भएको निष्कर्ष निकाल्दै सम्वन्धित कम्पनीलाई निर्माण कार्यतालिका सहित मङ्सिर २९ गतेभित्र काम सक्ने गरी कागज गराइएको थियो । यसमा निर्माण कम्पनीको तर्फबाट रामबहादुर कटवालले हस्ताक्षर गरेका थिए । तर यो अवधिमा पनि काम सकिएको छैन । अबको दुई महिनाभित्र सक्ने निर्माण कम्पनीले जानकारी गराएको अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला सम्वनय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले भने छिट्टै काम सक्ने पहल भइरहेको बताएका छन् । निर्माणमा सम्वद्ध रामबहादुर कटवालले लिफ्ट बाहेक अन्य काम सकिने जनाए । पहिलो तलामा ओपिडी कक्ष, इमरजेन्सी कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्युरिटी रूम लगायतका संरचना बन्ने छ । दोस्रो तलामा प्रसुतिसम्बन्धी सेवा तथा प्रसुतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसियू कक्ष, आइसोलेसन कक्ष, क्याविन तथा चौथो तलामा प्रशासन, लेखा, सेमीनार हल लगायतका संरचना निर्माण हुने छ । उक्त भवन ४० मिटर लम्बाई र २० दशमलव ५ मिटर चौडाईको हुने छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित