हलेसी तुवाचुङ नगरपालिकामा बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन (भिडिओ सहित)

  • प्रकाशित मितिः पुस २६, २०८१
  • 169 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २६–हलेसी तुवाचुङ नगरपालिकाले बदाम फलाउने किसानलाई प्रोत्साहन वापत रकम वितरण सुरु गरेको छ । बदाम प्रबद्र्धन कार्यक्रम अन्तरगत पाँच मुरी भन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहन वापत रकम वितरण सुरु गरेको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार पाँच मुरी भन्दा बढी बदाम फलाउने किसानलाई नगद २५ सय रूपैयाँ वितरण गरिएको छ । त्यसभन्दा धेरै बदाम फलाउने किसानलाई प्रतिमुरी तीन सय रूपैयाँका दरले प्रोत्साहन वापतको रकम वितरण गरिएको गिरीले बताएका छन् ।
हलेसी तुवाचुङ नगरपालिका कृषि शाखा प्रमुख रवीन भट्टराईका अनुसार उक्त नगरपालिकाको वडा नं–२ डिकुवा र ८ धितुङका किसानलाई प्रोत्साहन रकम वितरण गरिएको हो । भट्टराईका अनुसार धितुङका ९८ किसानलाई तीन लाख ९४ हजार र डिकुवाका ६ किसानलाई २१ हजार रूपैयाँ वितरण गरिएको छ । धितुङका किसानले ९ सय ९७ मुरी र डिकुवाका किसानले ५० मुरी बदाम उत्पादन गरेको भट्टराईले सुनाएका छन् ।
अन्य वडामा भने वितरण गर्न बाँकी रहेको प्रवक्ता गिरीले बताएका छन् । नगरको नीति अनुसार बदाम उत्पादनमा बृद्धि गर्न किसानलाई प्रोत्साहन रकम वितरण गरिएको गिरीले बताएका छन् । उक्त नगरपालिका–१ बाहुनीडाडाँ, ७ महादेवस्थान, ५ दुर्छिम, ११ राजापानीमा प्रोत्साहन रकम वितरण गर्न बाँकी रहेको गिरीले जनाएका छन् । उक्त नगरपालिकामा यो वर्ष करिब दुई हजार मुरी बदाम उत्पादन भएको अनुमान गरिएको भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित