आयातित पेय पदार्थमा प्रतिबन्घ (भिडिओ सहित)

  • प्रकाशित मितिः पुस १९, २०८१
  • 320 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १९– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका स्थानीयले आयातित पेय पदार्थ उपभोगमा प्रतिबन्ध लगाएका छन् । आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पु¥याएको भन्दै स्थानीयले आयातित पेय पदार्थमा प्रतिबन्ध लगाएका हुन् ।
बुइपास्थित कुसुङ्खा, गैरी फुलेली, उर्लेनी, छापगाउँ लगायतका स्थानीयले बिहे, छेवर, गुन्यु चोली, पास्नी, काजकिरिया, पितृ–कार्जे, सांस्कृतिक चाडपर्व, खेतलापात लगायतमा आयातित पेय पदार्थ उपभोगमा बन्देज लगाएका हुन् । गैरी फुलेलीका स्थानीय अरुण राईका अनुसार स्थानीय फुलेली सेवा समाजको पहलमा गत असोज १६ गते भएको भेलाको निर्णयले गाउँमा आयातित पेय पदार्थ सेवनमा प्रतिबन्ध लगाइएको हो । उनका अनुसार गत असोज २९ गते भएको स्थानीय सुशिला राईको विहेबाट आयातित पेयपदार्थ सेवनमा प्रतिबन्ध कार्यान्वयन गरिएको थियो ।
काजकिरियामा मात्र ४०–५० हजार, विहेमा डेढ–दुई लाख, छेवर, पास्नी, गुन्यु चोलीमा पनि उत्तिकै मात्रामा खर्च हुन थालेपछि आर्थिक भार बहन गर्न नसक्ने अवस्था आएकाले पनि यस्तो निर्णय गरिएको गैरी फुलेलीकै प्रकाश राईको भनाई छ ।
कुसुङ्खामा भने गत वर्षदेखि नै आयातित पेय पदार्थ सेवनमा रोक लगाइएको हो । स्थानीय प्रजीन राईका अनुसार स्थानीय सूर्योदय सांस्कृतिक परिवारको पहलमा गत २०८० बैशाख १ गते भएको भेलाको निर्णयले गाउँमा हुने विहे, छेवर, पास्नी, गुन्युचोली, काजकिरिया, पितृ कार्जे, विभिन्न सांस्कृतिक चाडपर्व, मेलापातमा आयातित पेय पदार्थमा रोक लगाइएको हो । उनका अनुसार २०८० जेठ दोश्रो साता भएको स्थानीय जीवन राईको विहेबाट कार्यान्वयन गरिएको थियो । यसैलाई सिको गरेर गैरी फुलेलीमा पनि आयातित पेय पदार्थ सेवनमा रोक लगाइएको प्रकाश राईको भनाई छ ।
यसले परम्परागत संस्कार संस्कृति, आर्थिक, जनजीविका, स्वास्थ्य लगायतका विषयमा समेत टेवा पु¥याएको वडाअध्यक्ष दिनेश राईले बताएका छन् । यो निर्णयले परम्परागत संस्कार संस्कृति, आर्थिक, जनजीविका, स्वास्थ्यमा पनि सकारात्मक प्रभाव परेको राईको भनाई छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले बुइपामा मात्र होइन नगरक्षेत्रभरि नै आयातित पेय पदार्थ बन्द गर्ने योजना बनाइएको बताएका छन् । बाहिरका आयातिम पेय पदार्थको विकल्पको रूपमा फलफूलबाट जुस लगायतका परिकार उत्पादन गर्न फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको राईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित