खोटाङमा कोदो, मकै र आलुको उत्पादन घट्यो (भिडिओ सहित)

  • प्रकाशित मितिः पुस ४, २०८१
  • 247 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ४–जिल्लामा यो वर्ष कोदो, मकै र आलुको उत्पादन घटेको छ । अनुकूल मौसम नहुदा उत्पादन घटेको हो ।
कृषि ज्ञानकेन्द्र खोटाङका प्रमुख हरिनारायण राईका अनुसार यो वर्ष अघिल्लो वर्षको तुलनामा १५ सय ९९ मेट्रिकटन कोदो उत्पादन घटेको छ । गत वर्ष २३ हजार पाँच सय ९७ मेट्रिकटन उत्पादन भएकोमा यो वर्ष २१ हजार ८ सय ९७ मेट्रिकटन कोदो उत्पादन भएको राईले बताएका छन् । कोदो फुलेको बेला अत्याधिक वर्षाले उत्पादन घटेको राईले जनाएका छन् । जिल्लामा १३ हजार तीन सय ३२ हेक्टरमा कोदो खेती गरिन्छ । जिल्लामा खाद्यन्न रूपमा भन्दा पनि घरेलु रक्सी उत्पादनमा कोदोको बढी खपत हुने गरेको छ ।
त्यस्तै मकैको उत्पादनमा पनि कमी आएको छ । गत वर्षको तुलनामा यो वर्ष सात हजार एक सय मेट्रिकटन मकै उत्पादन घटेको राईले बताएका छन् । गत वर्ष ३९ हजार ९ सय १९ मेट्रिकटन मकै उत्पादन भएकोमा यो वर्ष ३२ हजार सात सय ३६ मेट्रिकटन उत्पादन भएको छ । खडेरी, वर्षा र हावाका कारण मकै उत्पादनमा कमी आएको राईले बताएका छन् । जिल्लामा २१ हजार ८ सय १४ हेकटरमा मकै खेती गरिन्छ ।
हिउदे आलुको उत्पादन पनि घटेको छ । गत वर्षको तुलनामा चार हजार दुई सय ६७ मेट्रिकटन कम उत्पादन भएको राईले सुनाएका छन् । गत वर्ष २३ हजार एक सय ३५ मेट्रिकटन आलु उत्पादन भएकोमा यो वर्ष १८ हजार ८ सय ६८ मात्र उत्पादन भएको छ । जिल्लामा २५ हजार ७० हेक्टरमा आलु खेती गरिन्छ । आलु उत्पादन घटेपछि मुल्य बढ्नुका साथै विउ समेत पाउन समस्या भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।
यो वर्ष धानको उत्पादन चाहिँ बढेको राईले बताएका छन् । उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष दुई हजार पाँच सय ३५ मेट्रिकटन बढी धान उत्पादन भएको छ । गत वर्ष २१ हजार एक सय ८८ मेट्रिकटन उत्पादन भएकोमा यो वर्ष २३ हजार सात सय २३ मेट्रिकटन धान उत्पादन भएको छ । जिल्लामा नौ हजार तीन सय ७७ हेक्टरमा धान खेती गरिन्छ । यो वर्ष ४० हेक्टरमा धानबालीमा बाढीले क्षति पु¥याए पनि उत्पादन भने बढेको राईको भनाई छ । जिल्लामा अन्य अन्नको तुलनामा चालमको उपभोग अत्याधिक गर्ने गरिएको छ । जिल्लामा उत्पादन भएको धान बाहेक तराईबाट दैनिक पाँच मेट्रिकटन चामल जिल्ला भित्रने गरेको खोटाङ उद्योग वाणिज्य संघको विवरणले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित