मझुवागढीमा उधौली साकेलाको रौनक (भिडिओ सहित)

  • प्रकाशित मितिः मंसिर ३०, २०८१
  • 214 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर ३०–ढोल, झ्याम्टाको तालमा गीत गाउदै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको एतिहासिक मझुवागढीमा उधौलीको अवसरमा मङ्सिर ३० गते बालबालिका, युवा–युवतीदेखि पाकासम्मले साकेला सिली नाचेका छन् । किरात राई यायोक्खा, किरात सेवा समाज, र मझुवागढी संरक्षण समितिले आयोजना गरेका साकेला सिलीमा किरातीहरु मात्र होइन गैरकिरातले समेत लहर मिलाएका छन् ।
किरातीहरूले मङ्सिरे पूर्णीमामा उधौली र बैशाखे पूर्णीमामा उभौली गरी वर्षमा दुई पटक सिली नाँच्ने गर्दछन् । उधौलीको बेला जाडो छल्न जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले उधौली भनिएको हो । यो बेला बाली–नाली भित्राइसकेपछि पितृलाई चढाउने चलन छ । अनिकाल नलागोस्, अन्नबालीको सह बसोस, वर्षभरि खान पुगोस् भन्ने कामनाका साथ पितृलाई चढाउने किराती संस्कृति रहेको स्थानीय सिंगशेर राईको भनाई छ ।
त्यस्तै बैशाखे पूर्णीमाको बेला गर्मी छल्न जलचर तथा थलचर उभौली लाग्ने भएकाले उभौली भनिएको राईले बताए । यो बेला चाहिँ खेती पाती राम्रो होस्, भलपहिरो, प्राकृतिक प्रकोप आइनलागोस् भनेर कामना गर्दै पितृलाई बल माग्ने चलन छ ।
उधौलीको अवसरमा मङ्सिर ३० गते विभिन्न ठाउँमा साकेला सिली नाँचिएको छ । किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातका अनुसार जिल्लाका विभिन्न ठाउँहरूमा उधौलीको अवसरमा साकेला सिली नाँचिएको हो । साकेला सिली किराती समुदायको मात्र नभएर सबै जातजाति तथा धर्म समुदायले समेत नाँच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको मझुवागढी संरक्षण समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका पूर्वप्रमुख बबि चाम्लिङले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित