खोटाङमा रेडपाण्डा र थार महोत्सवको तयारी (भिडिओ सहित)

  • प्रकाशित मितिः मंसिर १५, २०८१
  • 1420 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर १५–‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ को अवसर पारेर खोटाङमा रेडपाण्डा र थार महोत्सव गरिने भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा उक्त महोत्सव आयोजना गरिने भएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका विभिन्न जङ्गलहरूमा पाइने लोपोन्मुख रेडपाण्डा तथा उक्त नगरपालिकाकै वडा नं ६ नेर्पा, ७ दोर्पाचिउरीडाडाँ, ८ बुवालुङ, ९ निर्मलीडाडाँ र १० पाथेकाका विभिन्न जङ्गलहरूमा थार पाइने भएकाले यसको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को अवसरमा महोत्सव आयोजना गर्ने तयारी गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । यसका लागि मुन्दुम ट्रेलसंग जोडिएका वडाका वडाअध्यक्षहरू, सामुदायिक वन महासंघ सम्मिलित कार्यदलले विस्तृत अध्ययन गरी योजना बनाउने र त्यसको आधारमा महोत्सवको मिति निर्धारण गरिने भट्टराईले बताएका छन् । ‘मङ्सिर १३ गतेको कार्यपालिका बैठकले मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को अवसरमा खोटाङमा रेडपाण्डा र थार महोत्सव आयोजना गर्ने निर्णय गरिएको हो’ भट्टराईले भने–‘वडा नं १० का वडाअध्यक्ष मुगाधन राईको संयोजकत्वमा बनेको समितिले महोत्सवका लागि विस्तृत अध्ययन गरेर योजना बनाउछ, त्यसपछि मिति निर्धारण गर्छौ ।’
मुन्दुम ट्रेल भ्रमण २०२५ का लागि विभिन्न महोत्सवहरू आयोजना गर्ने योजना अनुरुप दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले रेडपाण्डा तथा थार महोत्सव गर्ने तयारी गरेको हो । भ्रमण वर्षको अवधिमा करिब एक लाख पर्यटक भित्राउने गरी मुन्दुम भ्रमण वर्ष २०२५ आयोजना गर्न लागिएको मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ का आयोजक रमेश राईले बताए । यसका लागि मैयुङ ट्याम्के साल्पासिलिचुङ पर्यटन प्रबद्र्धन केन्द्रको संयोजकत्व र मुन्दु ट्रेल भ्रमण वर्ष २०२५ मूल व्यवस्थापन समितिको आयोजनामा मङ्सिर ५ गते बैठक बसी विभिन्न स्थानीय तहहरूलाई मुन्दुम ट्रेलसंग जोडिएका आ–आफ्नो क्षेत्रमा विभिन्न महोत्सव र पर्यटकीय क्रियाकलापहरूमा पर्यटन प्रबद्र्धन गर्न मद्दत गर्ने खालका मौलिक कार्यक्रमहरू समावेश गराउने निर्णय अनुरुप महोत्सव आयोजना गर्ने तयारी गरिएको भट्टराईको भनाई छ ।
भ्रमण वर्षमा टेम्के मैयुङ गाउँपालिकामा गुरास तथा घोडचढी महोत्सव, फिल्म सुटिङ महोत्सव, केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ महोत्सव तथा गोठस्टे महोत्सव, साकेला गाउँपालिकामा उधौली–उभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव, भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथुन, माउन्टेन साइकिलिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा चाकचाकुर महोत्सब लगायतका कार्यक्रम आयोजना गरिने राईले सुनाए । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ भव्य रूपमा आयोजनाको तयारी सुरु गरिएको छ’ राईले भने–‘मुन्दुम ट्रेल लगायत अन्य विभिन्न सांस्कृतिक पक्ष पर्यटनको भर्जिन गन्तव्य भएकाले एक लाख पर्यटक भित्राउने लक्ष्य राखिएको छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित