नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर १४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रिय बाँस सम्मेलनको तयारी गरेको छ । नगरपालिकाको मुख्य आयोजना तथा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय कोसी प्रदेश र ग्रीन ब्याम्बो क्रियसन ललितपुरको सह–आयोजनामा सम्मेलन गर्ने तयारी गरेको हो ।
मङ्सिर १४ गते पत्रकार सम्मेलन गरी नगरप्रमुख तीर्थराज भट्टराईले आगामी फागुन १५ गतेदेखि १७ गतेसम्म प्रथम राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने तयारी गरेको जनाएका हुन् । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नाराका साथ उक्त सम्मेलन गर्ने तयारी गरिएको भट्टराईले सुनाए । ‘नेपालमै पहिलो पटक बाँस सम्मेलन खोटाङमा हुदैछ’ भट्टराईले भने–‘बाँसजन्य वस्तुको उत्पादन र बजारीकरणको माध्यमबाट नगरलाई समृद्धि तुल्याउन प्रथम राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्न लागिएको हो ।’
पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहको नेतृत्वमा बनेको राष्ट्रिय आयोजक समितिसंगको समन्वय र सहकार्यमा उक्त सम्मेलन हुन लागेको भट्टराईले बताए । उक्त सम्मेलनमा सरकारी निकाय, वन–वातावरण, पर्यावरणका क्षेत्रमा काम गरिरहेका दातृ निकाय, गैरसरकारी संघसंस्था, वन–विज्ञान शिक्षालय तथा निजी क्षेत्रहरू लगायतका सरोकारवालाहरुलाई सहभागिता, साझेदारी, सहकार्य र समन्वयका लागि आव्हान गरिने नगरप्रमुख भट्टराईले बताए । यसअवसरमा स्थानीय उत्पादनप्रति सरकारको ध्यान तान्न राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिश, सभामुख र राष्ट्रियसभाका अध्यक्ष लगायतलाई नगरपालिकामा निर्मित बाँसको कुर्सी उपहार दिने तयारी गरेको समेत भट्टराईले बताए ।
नगरपालिकाबाट राष्ट्रिय आयोजक समितिसंग समन्वय तथा सहकार्य गरी स्थानीय स्तरमा सम्मेलनको आवश्यक तयारीका लागि नगरपालिकाका वन, वातावरण, फोहोरमैला तथा विपद व्यवस्थापन समिति संयोजक मुगाधन राईको संयोजकत्वमा समिति गठन गरी सम्मेलनको पूर्व तयारी र स्थानीय समुदायलाई जोड्न विद्यार्थीमार्फत बाँससम्बन्धी निबन्ध, हस्तकला प्रतियोगिता तथा प्रदर्शनी गर्ने तयारी गरिएको भट्टराईले सुनाए ।
सम्मेलनमा प्रदर्शनीका लागि नगरका १५ वटै वडामा बाँसबाट निर्मित परम्परागत सामाग्रीहरू संकलन गर्न वडाध्यक्षहरूलाई जिम्मेवारी दिने, प्रत्येक वडाबाट बाँससम्वन्धी काम गर्ने १५ जना विज्ञको वडाले छनोट गर्ने र नगरपालिकाबाट प्रोत्साहित गर्ने, छनोट भएकाहरूबाट सम्मेलन अवधिमा प्रदर्शनीका लागि बाँसबाट निर्मित आवश्यक सामाग्रीहरू तयारी गर्न अनुरोध गर्ने लगायतका तयारी गरिएको भट्टराईले बताए । ‘बाँसको संरक्षण, व्यवस्थापन, दीगो उपयोग र उद्यमशीलता विकास गरी प्राकृतिक संरक्षण, स्थानीय रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा बृद्धि गरी समृद्ध पालिका र राष्ट्र बनाउने उद्देश्यले सम्मेलन आयोजनाको तयारी गरिएको हो’–भट्टराईले भने । भट्टराईका अनुसार नगरक्षेत्रभित्र भएका १३ प्रकारका बाँस प्रजातिका बाँस छन् । यसको पहिचान पनि तत्कालै गरिने भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २३–रावा�... ... ...
सविना अछामे– खोटाङ, मङ्सिर २२-नेर्पा स्पोर्टस् क... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २१–साके�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०–ऐतिह�... ... ...
दिनेश चाम्लिङ–खोटाङ, मङ्सिर १८–खोटेहाङ गाउँप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित