दिक्तेलको प्यारागण सहकारीका बचतकर्ताहरूको बचत फिर्ता नपाएको गुनासो (भिडिओ सहित)

  • प्रकाशित मितिः मंसिर १२, २०८१
  • 233 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर १२–दिक्तेलस्थित प्यारागण बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरूले बचत रकम फिर्ता नपाएको गुनासो गरेका छन् । बचत अवधि सकिएपछि बचत रकम माग्दा फिर्ता नपाएको गुनासो गरेका हुन् ।
दिक्तेल बजारमा विभिन्न पेशा व्यवसाय गरेर बस्नेहरूले जम्मा गरेवापतको रकम फिर्ता नगरेको पीडितहरूले बताएका छन् । दिक्तेलको संगम टोलमा मेडिकल सञ्चालन गरेर बस्ने कुमार उपरकोटी, दिक्तेलको सल्लेरीटोलमा डेन्टल क्लिनिक सञ्चालन गरेर बस्ने महेश फुयाल, त्रिवेणीचौकमा कपडा पसल सञ्चालन गरेर बस्ने सविता आचार्य, त्रिवेणीचौकमै होटल व्यवसाय गरेर बस्ने कुमार कटवालको बचत फिर्ता नभएको गुनासो गरेका छन् ।
त्यस्तै दिक्तेल रत्नपार्कमा कपडा पसल गरेर बस्ने रमेश बस्नेत, दिक्तेल किरात चौकस्थित खोटाङ यातायात प्रालिको काउण्टरमा कार्यरत अमीर अधिकारी, बेसक्याम्पमा होटल व्यवसायी गर्ने नेत्र कटवाल लगायतले बचत गरेको रकम फिर्ता नभएको बताएका छन् । बचतकर्ताले जम्मा गरेको पासबुक समेत बचत फिर्ता गर्ने भनी सहकारीले लगेको तर बचत र पासबुक फिर्ता नगरेको बचतकर्ताहरूले गुनासो गरेका छन् ।
दिक्तेल बेसक्याम्पमा होटल व्यवसाय सञ्चालन गर्ने नेत्र कटवालले, श्रीमती यशोदा बस्नेत, छोरी नमिता कटवाल र आफ्नो नामबाट जम्मा गरेको बचत नपाएको गुनासो गरेका छन् । बचत रकम फिर्ता गर्ने भनेर सहकारीका कर्मचारीले पासबुक समेत लगेको तर बचत न पासबुक पारेको कटवालको भनाई छ ।
उक्त सहकारीको कार्यालय कटवालकै घरमा थियो । कार्यालय राखेको भाडा समेत नतिरेको कटवालले बताएका छन् । कार्यालय भाडा वापत फडिन्द्रकुमार राईको खाताबाट दुई लाख ३७ हजार रूपैयाँको चेक दिए पनि खातामा रकम नभएपछि चेकबाउन्स गरेर प्रहरीमा निवेदन दिएको कटवालको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले भने यसबारे बैंकलाई पत्र लेखेको तर त्यसको जवाफ नआइसकेकाले कारबाही प्रक्रियामा ढिलाई भएको बताएका छन् ।
कर्मचारीहरूलाई समेत तलव र उनीहरूले जम्मा गरेको बचत समेत फिर्ता नभएको बजार प्रतिनिधिको रूपमा कार्यरत कर्मचारी रमिला राईले बताइन् । उनको ६ महिनाको तलव र करिब ८ हजार बचत फिर्ता नपाएको दुःखेसो गरेकी छन् । त्यस्तै उक्त सहकारीमै बजार प्रतिनिधिकै रूपमा कार्यरत मनिता राईले पनि ३ महिनाको तलव पाएकी छैनन् । यसबाहेक उनकी आमा मनकुमारी राईको नामबाट जम्मा गरेको ३५ हजार बचत समेत फिर्ता नपाएको दुःखेसो छ ।
सहकारीका अध्यक्ष दीपेन्द्र राईले भने लगानी गरेको ऋण नउठेकाले बचत फिर्ता ढिलाई भएको बताएका छन् । तै पनि धेरैजसोको ठूलो–ठूलो रकम फिर्ता गरिसकेको र बाँकी रहेका केही बचत पनि केही दिनमै फिर्ता गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित