अलपत्र करोडौंको सिचाइ योजना सुरु गर्ने सहमति

  • प्रकाशित मितिः मंसिर ८, २०८१
  • 160 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ८–दिप्रुङ चुइचुम्मा गाउँपालिकामा निर्माणाधीन चरणमा अलपत्र परेको करोडौंको सिंचाइ कुलो योजना सञ्चणलन गर्ने सहमति भएको छ । स्थानीय, निर्माण व्यवयायी, जनप्रतिनिधिहरू, प्रशासन, सिचाइ डिभिजन कार्यालय लगायतको बृहत छलफलपछि मङ्सिर ७ गते भएको छलफलमा उक्त सहमति भएको हो ।
सिचाइ डिभिजन कार्यालय खोटाङका प्रमुख इन्जिनियर महेश यादवका अनुसार निर्माण कम्पनीले १५ दिनभित्र कार्यसूची बुझाउने, हरेक १५–१५ दिनमा प्रगति विवरण बुझाउने, काम सकिएको ठाउँसम्म पानी खसाल्ने, मुहानदेखि नै काम सुरु गर्ने लगायतका विषयमा सहमति भएको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राई, संविधानसभा सदस्य उषाकला राई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, गाउँपालिका अध्यक्ष लोकेन्द्र राई, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की लगायत स्थानीयको बृहत उपस्थितिमा उक्त सहमति भएको यादवले सुनाए । ‘अलपत्र योजना तत्काल सञ्चालन गर्ने सहमति भएको छ, १५ दिनभित्र वर्क सेडुल दिने र त्यसपछि काम थालेर १५–१५ दिनमा कार्य प्रगति पेश गर्ने सहमति भएको छ’ यादवले भने–‘अब चाहिँ काम हुन्छ जस्तो लागेको छ, नगरे कानुनी प्रक्रिया त छदैछ ।’
उक्त गाउँपालिकाको वडा नं ६ छितापोखरीको टुवाखेला मुहानको ‘लोकतान्त्रिक सिंचाइ कुलो योजना’ निर्माणाधीन चरणमै अलपत्र थियो । कोसी प्रदेश सरकार खानेपानी सिंचाइ तथा उर्जा मन्त्रालय विराटनगरको आठ करोड ८४ लाख २३ हजार रूपैयाको लागतमा २०७८ पुस २३ गतेसम्म सक्ने गरी २०७६ असार २३ गते स्काइ–विवश–रामसागर जेभीले संझौता गरे पनि अहिलेसम्म अपूरै छ । स्थानीयको अवरोधले योजनाको काम गर्न नसकेको भन्दै पटक–पटक म्याद थप हुदै आएको छ । यादवका अनुसार निर्धारित अवधिमा काम नसकिएपछि २०७९ असार २३ गते, २०८० असार २१ गतेसम्म सक्ने गरी म्याद थप भएको थियो । त्यस अवधिमा पनि नसकिएपछि २०८१ चैत १६ गतेसम्मका लागि म्याद थपिएको छ । पटक–पटक म्याद थप्दा लागत मुल्य बढेर दश करोड नौ लाख १३ हजार पुगेको यादवले सुनाए । यो योजनाको भौतिक प्रगति ७० र आर्थिक प्रगति ६८.६७ प्रतिशत भएको यादवले सुनाए ।
अब भने यो योजनाको ठेक्का लिने ज्वइनभेन्चरमा संलग्न तीनमध्ये रामसागर निर्माण कम्पनीले बाँकी रहेका काम पूरा गर्ने यादवले बताए । यो भन्दा अगाडि ज्वयनभेन्चरमा सहभागी विवश नेश्नल कन्ट्रक्सनले काम गरेको र उसले काम छाडेपछि यसमा सहभागी अन्य निर्माण कम्पनी समेत कालो सूचीमा पर्ने भएकाले रामसागरले काम गर्ने तत्परता देखाएको हो । राम सागर सम्वद्ध सागर लुइटेलले १५ दिनभित्र काम थाल्ने गरी तयारी सुरु गरेको बताए । ‘१५ दिनभित्र काम थाल्ने सल्लाह भएको छ, त्यसै अनुसार म्यानेजमेन्ट सुरु गरिएको छ’ उनले भने–‘फाइनान्सियल, मेटरियल, मेनपावर लगायतका काम गर्नु पर्ने भएकाले तयारी थालिएको छ ।’
दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले सहमति अनुसार काम नगरे त्यसले थप समस्या निम्तिने बताए । उनका अनुसार उक्त योजनामा काम गर्ने मजदुरले काम गरेवापत करिब १६ लाख रूपैयाँ दिन बाँकी रहेकाले उक्त रकम पनि १५ दिनभित्र दिनु पर्ने सहमती भएको छ । ‘१५ दिनभित्र मजदुरको पैसा दिने र त्यसपछि काम सुरु गर्ने, काम भएको ठाउँसम्म पानी खसाल्ने, बाहिरै लडोका पाइप गाड्ने भनेर सहमति भएको छ’ राईले भने–‘त्यस अनुसार काम भएन भने त फेरि समस्या निम्तिम्छ ।’
कामको सहजीकरणका लागि एउटा कार्यदल समेत बनाइएको राईले बताए । वडा नं ४ का वडाअध्यक्ष बबि राई, ५ का वडाअध्यक्ष डम्बर खड्का र ६ का वडाध्यक्ष मिलन राई सम्मिलित कार्यदल बनेको हो । ‘यो कार्यदलले काममा विवाद आए सहजीकरण गर्छ’–राईले भने ।
स्थानीयले योजनाको स्टिमेट अनुसार काम नभएको भन्दै विरोध जनाएका थिए । तीन फिट गहिरो खाल्डो खनेर त्यसभित्र पोलेथिन पाइप बिच्छ्याउनु पर्नेमा त्यस्तो नभएको, गुणस्तरहीन कामले गर्दा त्यसमा ल्याइएको पानी फुटेर गाउँ बगाउने जोखिम हुने हुदा स्थानीयले विरोध गरेको गाउँपालिका अध्यक्ष राईले बताए ।
उक्त योजनाले दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे, ५ सप्तेश्वर छितापोखरीको तल्लो भागमा सिचाइ सुविधा पुग्ने गरी निर्माण थलिएको थियो । उक्त योजना अलपत्र परेपछि तत्काल सञ्चालनको माग गर्दै स्थानीयले विभिन्न निकाय समक्ष माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित