किवी उत्पादन बढ्यो, बजार छैन (भिडिओ सहित)

  • प्रकाशित मितिः कार्तिक २३, २०८१
  • 254 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २३–जिल्लामा किवी उत्पादन बढे पनि बजार नहुदा किसान चिन्तित छन् । बजार नपाएपछि उत्पादन गरेको किवी खेर जाने अवस्थामा पुगेपछि किसान चिन्तित भएका हुन् ।
बजार अभावका साथै जिल्लामा चिस्यान केन्द्र समेत नहुदा किवी खेर जाने अवस्थामा पुगेको किसानहरूको दुःखेसो छ । पोहोर साल प्रतिकेजी एक सय ५० रूपैयाँले किवी विक्री गरेको र यो वर्ष त्यत्ति मुल्य पनि नपाउने अवस्थामा पुगेको किसानहरूले बताएका छन् । किवी उत्पादन भए पनि बजार नहुदा समस्या आइपरेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढेका किसान एन्टी शेर्पाको भनाई छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले वडा नं–६ नेर्पाको तालखर्कमा किवी लगायतका फलफूल प्रशोधन गर्न संघीय र स्थानीय सरकारको एक करोड बढीको लगानीमा प्रशोधनकेन्द्र निर्माण गरे पनि सञ्चालनमा नआउदा यो वर्षको किवी बिक्रीका लागि अन्यत्र बजार खोज्नु पर्ने अवस्था आएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताए । उक्त प्रशोधन केन्द्रको केही काम बाँकी भएकाले सञ्चालनमा आउन नसकेको जैसीले सुनाए । यसका लागि प्रदेश सरकारको चालु आर्थिक वर्ष २० लाख बजेटबाट काम सम्पन्न गर्ने जैसीको भनाई छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा गत वर्ष १५ मेट्रिकटन किवी उत्पादन भएकोमा यो वर्ष बढेर ४० मेट्रिकटन उत्पादन हुने जैसीले बताएका छन् । किवीको उत्पादन बढे पनि बिक्री हुन नसक्नुका साथै व्यवस्थित स्टोर अभावमा लामो समयसम्म राख्न पनि नसककिने भएकाले किसान मारमा परेको किवी किसान शुभचन्द्र राईले बताए । किवीबाट जुस, जाम, पेरी लगायतका विभिन्न परिकार बनाएर मात्र किसानको लगानी नडुब्ने राईको भनाई छ ।
अन्य स्थानीय तहहरूमा पनि किवी उत्पादन बढेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गत वर्ष २० मेट्रिकटन उत्पादन भएकोमा यो वर्ष २५ मेट्रिकटनभन्दा बढी किवी उत्पादन भएको कृषि शाखा प्रमुख एलबी मगरले बताएका छन् । खोटेहाङ गाउँपालिकामा पनि किवी उत्पादन बढेको गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताएका छन् ।
केपिलासगढी गाउँपालिकामा पनि किवी उत्पादन बढेको गाउँपालिका अध्यक्ष समीर राईले बताएका छन् । राईका अनुसार वडा नं १ फेदीमा १२ हजार केजी, २ खार्मम्छामा ८ हजार पाँच सय केजी, ७ सुङ्देलमा एक सय केजी किवी उत्पादन भएको छ । उक्त पालिकामा किसानले उत्पादन गरेको किवीले बजार नपाए गाउँपालिका आफैंले लिइदिने गाउँपालिका अध्यक्ष राईले बताएका छन् । किवी उत्पादक किसान निरुत्साहित नहोस् भनेर गाउँपालिका आफैंले लिइदिने व्यवस्था मिलाएको राईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित