निरीक्षकले नियतबस् फेल गराएको विद्यार्थी पास (भिडिओ सहित)

  • प्रकाशित मितिः कार्तिक २१, २०८१
  • 213 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २१–केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाडाँ माविका विद्यार्थी शिवकुमार राईको एसइइ परीक्षाको नतिजा सुधार भएको छ । निरीक्षकले नियतबस उत्तरपुस्तिका कोरेर एसइइ परीक्षा बिग्रिएको नतिजा पुनः परीक्षणपछि सुधार भएको हो ।
राईले २०८० चैत २० गते पृथ्वी मावि बाक्सिला परीक्षा केन्द्रमा भएको अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षाको उत्तरपुस्तिका निरीक्षकले नियतबस कोरेर फेल भएपछि राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमा पुनःपरीक्षण गराएपछि नतिजा सुधार भएको उनका बाबु परशुराम राईले बताएका छन् ।
उनका अनुसार अनुसार २०८१ असार १४ गते प्रकाशित एसइइ परीक्षाको नतिजामा अनुतीर्ण भएपछि राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमा रिटोटलिङ गर्दा समेत नतिजा सुधार नभएकाले २०८१ भदौ १७ गते उत्तरपुस्तिका हेर्न पाउ भनि निवेदन दिएको र उत्तरपुस्तिका हेर्दा निरीक्षकले नियतबस उत्तरपुस्तिकामा १० वटा क्रस् चिन्ह लगाएको पाइएकाले फेरि असोज १३ गते उत्तरपुस्तिका पुन परीक्षणका लागि निवेदन दिएपछि कात्तिक ४ गते प्रकाशित सूचना अनुसार नतिजा सुधार भएको हो ।
उक्त नतिजा अनुसार शिवकुमारले ३.४५ जिपिए ल्याएका छन् । पूरक परीक्षामा भने उनको जिपिए ३.५५ थियो । अब भने पछिल्लो नतिजा कायम हुने छ । परीक्षाको नतिजा सुधारपछि शिवकुमार पालिकाकै सबैभन्दा बढी जिपिए ल्याउने विद्यार्थी घोषित भएका छन् । छात्रातर्फ पनि थर्पुडाडाँ माविकै क्याल्सी राईले ३.३९ जिपिए ल्याएर छात्रातर्फको उत्कृष्ट घोषित भएकी छन् ।
केपिलासगढी गाउँपालिकाले एसइइ परीक्षामा उत्कृष्ट नम्बर ल्याएर उतीर्ण हुने छात्र–छात्रालाई एक–एक लाख रूपैयाँ दिने घोषणा गरेपछि थर्पुडाडाँ माविका विद्यार्थीलाई उक्त पुरस्कारबाट बन्चित गराउन नियतबस उत्तरपुस्तिका कोरेको राईको दाबी छ । नियतबस परीक्षा बिगार्ने निरीक्षकलाई कारबाहीको माग गर्दै असोज २२ गते जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ र जिल्ला प्रहरी कार्यालयमा विद्यालय व्यवस्थापन समिति र अभिभावकले उजुरी समेत दिएको राईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित