किवीको उत्पादन तेब्बरले बढ्यो (भिडिओ सहित)

  • प्रकाशित मितिः कार्तिक १६, २०८१
  • 1006 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १६–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा यो वर्ष किवी उत्पादन तेब्बरले बढेको छ । गत वर्ष १५ मेट्रिकटन उत्पादन भएकोमा यो वर्ष ४० मेट्रिकटन भन्दा बढी उत्पादन भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीका अनुसार नगरपालिकाको सात हेक्टरमा किवी उत्पादन हुन्छ । गत वर्ष १५ मेट्रिकटन मात्र उत्पादन भए पनि यो वर्ष भने बोट बयस्क हुदै गएपछि उत्पादनमा बृद्धि भएको हो । यो वर्ष किवीको उत्पादन ४० मेट्रिकन भन्दा बढी हुने जैसीले बताएका छन् । ‘किवी उत्पादन वर्षेनी बढ्दै जाने हो, जति बयस्क हुन्छ उत्तिनै उत्पादन पनि बढ्दै जान्छ’ जैसीले भने–‘त्यही भएर यो वर्ष उत्पादनमा बृद्धि भएको हो ।’
गत वर्ष दश मेट्रिकटन किवी किसानले बिक्री गरेको जैसीले बताए । यसबाट एक सय ५० रूपैयाँका दरले हिसाव गर्दा १६ लाख हुन आउछ । यो वर्ष भने एक सय ५० रूपैयाँकै दरले हिसाव गर्दा ४० मेट्रिकटनको ६० लाख रूपैयाँ कारोबार हुने जैसीले सुनाएका छन् । अर्को वर्ष किवी उत्पादन झन धेरै बढ्ने जैसीले जनाएका छन् ।
यो वर्ष नगरपालिकामा थप ३५ हेक्टरमा १५ हजार किवी रोपिएको छ । यसमध्ये नगरपालिकाले सात हजार र जलाधारमा आधारित जलवायु उत्थानशील जिविकोपार्जन परियोजनाले आठ हजार विरुवा वितरण गरेको जैसीले सुनाएका छन् ।
किवी उत्पादनमा बृद्धि भए पनि प्रशोधन केन्द्र नहुदा किसानले चाहेजस्तो आम्दानी गर्न नसकेको कृषक शुभचन्द्र राईले बताए । किवीलाई लामो समयसम्म राख्न नसकिने भएकाले त्यसलाई प्रशोधन गरेर जुस, जाम लगायतका परिकार बनाएर उपभोक्तासम्म पु¥याउदा मुल्य पनि राम्रो पाइने र उत्पादन पनि खेर नजाने राईको भनाई छ । तर यसका लागि किसानमा लगानी गर्ने क्षमता नभएकाले स्थानीय सरकारले ध्यान दिनु पर्ने राईले बताए ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले किवीबाट नगरबासीको समृद्धि हासिल गर्ने लक्ष्य लिएकाले उत्पादन, प्रशोधन र बजारीकरणलाई जोड दिएको बताएका छन् । यसका लागि किवी लगायतका फलफूल प्रशोधन गर्न नगरपालिकाकै वडा नं ६ नेर्पाको तालखर्कमा एक करोड बढीको प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको राईले बताए । संघीय सरकारको समपूरक अनुदानको एक करोड र प्रदेश सरकारको २० लाख रूपैयाँको बजेटबाट काम भइरहेको राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित