घट्यो माछा, संरक्षणको अभाव (भिडिओ सहित)

  • प्रकाशित मितिः कार्तिक ११, २०८१
  • 706 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ११–करेन्ट, ब्लाष्टिङ, विष, जलवायु परिवर्तन लगायतका कारण खोलामा माछा घट्न थालेको स्थानीयले बताएका छन् । यो वर्ष अघिल्लो वर्षहरूको तुलनामा खोलामा माछा नभएपछि माछाबाटै जिविकोपार्जन गर्नेहरू चिन्तित् छन् ।
माछा नपाएपछि माछा पसलनै चौपट भएको कटहरेबेसीमा माछा पसल गरेर बस्ने रत्नमायाँ रम्तेलले बताइन् । एकै दिनमा ५० हजार रूपैयाँसम्मको माछा बेचेको सम्झदै रम्तेलले भनिन्–‘कोही बेला ५०–६० हजारसम्मको माछा बिक्री हुन्छ, तर अहिले छैन ।’
करेन्ट, ब्लाष्टिङ, विष, बाढी, जलवायु परिवर्तन लगायतका कारण माछा घटेको रावाबेसी गाउँपालिका–२ खार्पाका वडाअध्यक्ष डोलराज बस्नेतले बताए । रावाखोलामा वर्षेनी ६–७ ठाउँमा तिप अर्थात सोराइ थाप्ने गरेको बस्नेतको भनाई छ । अघिल्लो वर्षतिर एउटै सोराइमा तीन चार सय केजी माछा निक्लने गरेकोमा यो वर्ष सय केजी पनि नपुगेको बस्नेतले बताए । करेष्ट र ब्लाष्टिङ प्रयोग गरेर माछा मार्दा माछामा प्रजनन् क्षमतामा कमी आउने भएकाले असला लगायतका स्थानीय प्रजातिका माछाहरू लोप हुने अवस्थामा पुगेको बस्नेतले बताएका छन् ।
रावाबेसी गाउँपालिका–३ लामीडाडाको तिल्केटार, वडा नं–२ खार्पाको चालिसे, वडा नं ४ डुम्रेधारापानीको कटहरे, वडा नं ५ दुबेकोलको पिप्ले, चिण्डेभदौरेबेसी लगायतका विभिन्न ठाउँमा सोराइ थाप्ने गरिएको बस्नेतले बताएका छन् । यसमध्ये तिल्केटारमा माझी समुदायले हिउदे सोराइ लगाउने गरेका छन् । चालिसे, पिप्ले, कटहरेबेसी लगायतका विभिन्न ठाउँमा भने वर्षे सोराइ लगाउने गरिन्छ । यो वर्षामा चालिसे, कटहरेबेसी, पिप्लेको सोराइ बगाएको थियो । यसमध्ये चालिसे र कटहरेबेसीमा बगाएको सोराइ फेरि बनाइएको बस्नेतले बताएका छन् ।
ब्लाष्टिङ, करेन्ट, विष लगाउन बन्देज गरिए पनि रोक्न नसकिएको वडाअध्यक्ष बस्नेतले जनाएका छन् । अघिल्लो स्थानीय सरकारदेखि वर्तमान स्थानीय सरकार, वडाहरूले समेत करेन्ट, ब्लाष्टिङ, विष लगाउन प्रतिबन्ध गर्दै आएको तर सफल नभएको बस्नेतले बताएका छन् । करेन्ट र ब्लाष्टिङ लगाएर माछा मार्ने एउटा टोलीलाई समातेर प्रहरीसम्म पु¥याउदा समेत नियन्त्रण गर्न नसकिएको बस्नेतको भनाई छ ।
जिल्ला समन्वय समिति खोटाङले पनि जिल्लाका रावाखोला, तापखोला, साप्सु खोला, मेवा खोला लगायतका विभिन्न खोलाहरूमा करेन्ट, ब्लाष्टिङ र विष प्रयोग गरेर माछा नमार्न दुई महिनाअघि नै सम्वन्धित स्थानीय सरकारहरूलाई पत्राचार गरेको समन्वय प्रमुख सनबहादुर राईले बताएका छन् । यसअनुसार कार्यान्वयन भयो भएन भनेर निरीक्षण पनि भइरहेको राईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित