दिक्तेलको फूलको पहाड (भिडिओ सहित)

  • प्रकाशित मितिः कार्तिक १०, २०८१
  • 827 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १०–आजभोलि मझुवागढी जाने जो–कोहिले मनोरम फूल फुलिरहेको देखिन्छ । दिक्तेलको हाटडाडाँदेखि उकालो लाग्ने साथ फूलहरूले मन लोभ्याउछ । यसका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले करिब तीन लाख रूपैयाँ खर्च गरेको छ ।


मझुवागढी क्षेत्रलाई फूलै–फूलको पहाड बनाएर पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आर्थिक वर्ष २०७९÷८० बाट लगानी सुरु गरेको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । ‘मझुवागढी क्षेत्रमा रहेको मझुवागढी, कालिका भगवती, बुद्धेश्वर गुफा वरिपरि विभिन्न प्रकारका फूल रोपेर फूलै–फूलको पहाड बनाउने योजना छ’ भट्टराईले भने–‘फूलै–फूलको पहाड भएपछि पर्यटकलाई आकर्षित गर्ने छ, त्यही योजना अनुसार फूल रोपिएको हो ।’


यहाँ सिजनमा फुल्ने र सदाबहार रूपमा फुल्ने फूलहरू रोपिएका छन् । गुरास, निल सिरिस, रातो सिरिस लगायतका विभिन्न खाले फुल रोपिएको भट्टराईले बताए । ‘काठमाडौं तथा स्थानीय नर्सरी, शुभम फाउण्डेसन लगायतबाट विभिन्न प्रकारका फूलहरू सङ्कलन गरेर २०८० जेठ–असार र २०८१ जेठ–असारमा फूल रोपिएको हो’ भट्टराईले भने–‘आगामी दिनमा पनि फूल रोपाइँलाई निरन्तरता दिइने छ, यसका लागि विभिन्न प्रकारका फूलका विऊ ल्याएर नर्सरी गरिएको छ ।’


यो बेला सिजनेबल फूल फुलिरहेकाले यसलाई हेर्न आन्तरिक पर्यटकहरू आइरहेको भट्टराईको दाबी छ । अन्य बेला पनि फुल्ने सदाबहार खालको फूलहरू पनि रोपिएको तर त्यस्ता खालका फूल फुल्न समय लाग्ने भट्टराईले बताए । ‘केही फूलहरू १० वर्षपछि मात्र फुल्ने खालका पनि छन्, केही फूल केही वर्ष फुल्ने खालका, कुनै कुनै छिट्टै फुल्ने खालका पनि छन्’ भट्टराईले भने–‘दीर्घकालीन रूपमा योजना बनाएरै काम थालिएको हो ।’


फूल संरक्षणका लागि हेरालु समेत राखिएको भट्टराईको भनाई छ । ‘फूल संरक्षणका लागि दुई जना हेराल राखिएको छ’ उनले भने–‘हेरालु राखेपछि फूलको संरक्षण भएको छ, अब छिट्टै यसको परिणाम देखिन्छ ।’


चालु आर्थिक वर्ष मझुवागढी सौन्दर्यकरणका लागि संघीय सरकारको ७० प्रतिशत र स्थानीय सरकारको ३० प्रतिशत गरी एक करोड ५२ लाख रूपैयाँ बजेट भएकाले यसबाट पनि यसमा खर्च खरिने भट्टराईले बताए । ‘मझुवागढी सौन्दर्यकरणका लागि संघीय सरकार र स्थानीय सरकारको एक करोड ५२ लाख बजेट छुट्टिएको छ’ भट्टराईले भने–‘यो बजेटबाट टेण्डरमार्फत अन्य संरचना सहित फूलको पहाड योजनामा पनि केही रकम खर्च गरिने छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित