वडाअध्यक्ष अमेरिका गएर नफर्किएपछि लगाइएको ताला खोल्ने बारे छलफल निष्कर्ष विहीन

  • प्रकाशित मितिः कार्तिक ८, २०८१
  • 154 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ८–साकेला गाउँपालिका–४ मात्तिमका वडाअध्यक्ष अर्जुनकुमार कटवाल अमेरिका गएर नफर्किएपछि वडा कार्यालयमा लगाइएको ताला खुलाउने बारे कात्तिक ८ गते भएको छलफल निष्कर्ष विहीन टुङ्गिएको छ । गाउँपालिका उपाध्यक्ष विर्सिका राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत सर्मिला राई, आन्दोलनरत पक्ष बीच बिहीबार ३ घण्टा लामो छलफलमा सहमती जुट्न नसकेपछि ताला खोल्न विषय निष्कर्षमा पुग्न नसकेको हो ।
आन्दोलनको नेतृत्व गरिरहेका पूर्व वडाअध्यष वडाध्यक्ष कृष्णप्रसाद भट्टराई लगायत आन्दोलनरत पक्षले वडाअध्यक्ष अर्जुनकुमार कट्वाल २०८० माघ १७ गते अमेरिका गएपछि नफर्किएको र उक्त पद रित्त गर्ने प्रक्रिया नबढेसम्म ताला नखोल्ने अड्डी कसेपछि सहमती जुट्न नसकेको भट्टराईले बताए । वडाअध्यक्षजस्तो गरिमामय पदको वडाअध्यक्षले अपमान गरेकाले पद रित्त हुनु पर्ने अडान लिएको तर ताला चाहिँ खोल्दै गर्नु पर्ने र प्रक्रिया पनि बढाउँदै गर्नु पर्ने भनेपछि निष्कर्षमा नपुगेको भट्टराईले बताए ।
२०८० माघ १७ गतेदेखि कार्यालयमा अनुपस्थित भई अमेरिका बसेकाले वडा तथा कार्यालयको काममा प्रभावित भएको भन्दै बुधबार ताला लगाएका थिए । वडाको विकास निर्माण तथा वडा कार्यालयको काम प्रभावित भएपछि तालाबन्दी गर्नु परेको भट्टराईले बताए । गाउँकार्यपालिकाले भीमबहादुर खड्कालाई तीन पटकसम्म कार्यबाहक तोकेको र त्यो अवधि पनि सकिएकाले ताला लगाउन वाध्य भएको भट्टराईले बताए ।
भट्टराइका अनुसार गत साउन २१ गतेको सर्वदलीय बैठकले १५ दिनभित्र वडाअध्यक्ष वडामा उपस्थित हुनु पर्ने वा मार्गप्रस्स्त गर्नु पर्ने माग राख्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि गाउँकार्यपालिकाको बैठकले वडा सदस्य भीमबहादुर खड्कालाई कार्यबाहक तोकेर वडाको काम भएको थियो । त्यो पनि असोज २० गते अवधि सकिएपछि हामीले वडामा ताला लगाउनुका साथै सर्वदलीय÷सर्वपक्षीय बैठकको प्रतिलिपि सहित गाउँपालिकालाई दिएको भट्टराईले बताए ।
कांग्रेसका स्थानीय नेता बुद्धिबोल राई, जीवन श्रेष्ठ, एमालेका गोपीकृष्ण खड्का, माओवादी नेता युवराज दुलाल, भोला फुयाल लगायतले तालाबन्दी गरी गाउँपालिकालाई जानकारी गराएको भट्टराईले बताए । यसअघि पनि साउन २१ गते गाउँपालिका लगायत जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, जिल्ला निर्वाचन कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित