परीक्षा निरीक्षकले नियतबस विद्यार्थीको परीक्षा बिगारेको भन्दै विभिन्न ठाउँमा उजुरी (भिडिओ सहित)

  • प्रकाशित मितिः असोज २३, २०८१
  • 819 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २३–एसइइ परीक्षामा नियतबस उत्तरपुस्तिका कोरेर फेल गराएको भन्दै जिल्ला प्रशासन कार्यालय खोटाङ लगायत विभिन्न ठाउँमा उजुरी परेको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाडाँ माविका विद्यार्थी शिवकुमार राईका बुवा परशुराम राई र विद्यालयका प्रधानाध्यपक ज्ञानकुमार राई र विद्यालय व्यवस्थापन समिति अध्यक्ष रूपलाल राईले जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ र जिल्ला प्रहरी कार्यालयमा असोज २२ गते उजुरी दिएका हुन् ।
केपिलासगढी गाउँपालिकाको पृथ्वी मावि बाक्सिला परीक्षा केन्द्रमा गत २०८० चैत २० गते भएको अनिवार्य विज्ञान तथा प्रविधि विषयको एसइइ परीक्षाका निरीक्षकले उत्तरपुस्थिका कोरेर फेल गराएकाले उजुरी दिएको परशुराम राईले बताए । उनका अनुसार अनिवार्य विज्ञान तथा प्रविधि विषयमा छोरा फेल भएपछि राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमा पुनःयोग गर्दा नतिजा नसुध्रिएको र त्यसपछि फेरि उत्तरपुस्तिका हेर्दा क्रस गरेर काटिएको पाइएकाले त्यसमा जिम्मेवार परीक्षा निरीक्षकलाई कारबाही गर्न माग गरिएको राईले बताए । उजुरीमा परीक्षा निरीक्षकको नाम नखुलाइए पनि दोषीको सम्वन्धित निकायले पहिचान गरी कारबाही गर्नु पर्ने राईले सुनाए ।
केपिलासगढी गाउँपालिकाले एसइइमा उत्कृष्ट जिपिए ल्याउने छात्र–छात्रालाई एक लाख रूपैयाँ दिने निर्णय गरेपछि शिवकुमारले उत्कृष्ट नम्बर ल्याउने सम्भावना देखेपछि नियतबस परीक्षा बिगारी दिएको राईको भनाई छ । छोरो राम्रै विद्यार्थीमा पर्ने भएकाले गाउँपालिकाले दिएको सुविधाबाट बन्चित गराउन यसो गरिएको राईको दाबी छ । थर्पुडाडाँ माविकै छात्रा क्याल्सी राईले ३.३९ जिपिए ल्याएर पालिकाकै उत्कृष्ट छात्रा घोषित भएकी छन् । शिवकुमारले पूरक परीक्षाबाट एसइइ उतीर्ण गरेका छन् । पूरक परीक्षाबाट उतीर्ण गर्दा उनले ३.५५ जिपिए ल्याएका छन् ।
राईको परीक्षा बिग्रिएपछि असोज २१ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले नियतबस परीक्षाको नतिजा बिगार्न परीक्षा निरीक्षकले उत्तरपुस्तिका कोरेको निष्कर्ष निकाल्दै जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने निर्णय गरेको थियो । यसैको आधारमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रूपलाल राई र प्रधानाध्यापक ज्ञानकुममार राईले उजुरी दिएका हुन् ।
एसइइ परीक्षा सञ्चालन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले यसको छानविनका लागि शिक्षा विकास तथा समन्वय इकाइलाई लेखिपठाएको बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित