नेपाली सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवको फाइनलमा

  • प्रकाशित मितिः भदौ ९, २०८१
  • 135 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, भदौ ९–नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवको फाइनलमा पुगेको छ । ‘लाइट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१ देशका ३ हजार ४ सय ९१ च्लचित्रहरूमध्येबाट ‘द स्कुल वाल’ फाइनलसम्म पुगेको हो । रसियाको रिबिन्स्क सिटीमा सेप्टेम्बर १२ देखि १६ सम्म हुने उक्त चलचित्र महोत्सवमा ‘द स्कुल वाल’ प्रर्दशनसमेत हुँदैछ । फाइनल चरणमा नेपालको तर्फबाट द स्कूल वाल सँगै अमेरिका, इन्डोनेसिया, भारत, ब्राजिल पनि सहभागी छन् । उक्त चलचित्र महोत्सवलाई रुसी अर्थोडक्स चर्चको यारोस्लाभ मेट्रोपोलियाको रिबिन्स्क डायोसेजको आयोजना तथा राष्ट्रिय प्रतिलिपि अधिकार समर्थन कोष र राष्ट्रपति अनुदान कोषले सह–आयोजना गरेको छ ।
रसियाको फेस्टिभल आयोजक टीमबाट कार्यक्रममा सहभागी हुनको लागि निमन्त्रणा आएसँगै रसियन एम्बेसीले भिसा पनि दिइसकेको तर रसिया युक्रेन युद्धको कारण नेपाल सरकारले नै नेपालीहरूलाई रसिया प्रवेशको लागि रोक लगाएकोले समस्या उत्पन्न भएको निर्माता सुरेन्द्र क्षेत्री बताउँछन् । परराष्ट्र मन्त्रालय पनि गएको तर परराष्ट्रले पहिलोपटक रसिया जानेलाई एन ओ सी उपलब्ध नगराउने बताएको उनी बताउँछन् । अन्तराष्ट्रिय खेलहरुले देशको प्रतिनिधित्व गरेजस्तै अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागी भई छनोट भएका चलचित्रहरुले पनि देशको प्रतिनिधित्व गरेर देशको गौरव बढाईरहेको हुन्छ । तसर्थ नेपाल सरकारले नै चलचित्र महोत्सवमा सहभागी हुनको लागि वातावरण मिलाईदिनुपर्नेमा सरकाले नै सहयोग नगरेको क्षेत्रीको गुनासो छ ।
बालमनोविज्ञानमा आधारित लघुचलचित्र ‘द स्कुल वाल’ यसअघि नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल, इरानको रोशड इन्टरनेशनल एजुकेशन एण्ड साईन्टिफिक फिल्म फेस्टिभल, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो र बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्स र फस्ट टाईम फिल्म मेकर सेसन्समा छनोट भएको थियो । ‘द स्कुल वाल’ काठमाडौं इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभलमा छनोट भएर राष्ट्रिय सभा गृहमा प्रदर्शनसमेत भएको थियो ।
लघुचलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । अन्य चर्चित कलाकारहरु सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गीता श्री थापा, आयुषा गौतम, बिदुर प्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेम राज कोईराला, उद्धव दंगाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । लघुचलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सनसँगै निर्माणसमेत गरेका हुन् ।
‘द स्कुल वाल’ मा पर्खालको रुपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । लघुचलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराईको एक बालकको संघर्षको कथालाई प्रस्तुत गरिएकोे छ । काठमाडौंमा छायांकन गरिएको लघुचलचित्रको दृश्य नारायण जिसीले खिचेका हुन् । लघुचलचित्रको सम्पादन तथा रङ्ग संयोजन अनिल कुमार महर्जन र सहायक निर्देशन करन साउदको रहेको छ ।
ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र ‘द स्कुल वाल’ को लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । उनले यसअघि निर्माण गरेका लघु चलचित्र ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’ विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर विभिन्न देशहरुमा प्रदर्शनसमेत भईसकेको छ । उनी अहिले नयाँ सर्टफिल्म ‘दृश्य’को तयारी गरिरहेको बताउँछन् । एक सटमा खिचिएको ’घुर्रा’ले उत्कृष्ट लघुचलचित्रको अवार्ड समेत प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित