दिक्तेल रूपाकोट मझुवागढी नगर उपप्रमुख राई विरुद्ध उजुरी, ५० हजारमा धरौटी तिरेर तारेखमा छुटे (भिडियो सहित)

  • प्रकाशित मितिः भदौ ६, २०८१
  • 431 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ६–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई विरुद्ध अपाङ्गता भएका व्यक्ति विरुद्धको कसुरमा उजुरी परेको छ । विभिन्न सार्वजनिक कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै भदौ ५ गते जिल्ला अदालतमा उजुरी परेपछि भदौ ६ गते अदालतमा हाजिर भएका राई ५० हजार रूपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका छन् ।
अपाङ्ग सेवा संघका अध्यक्ष उमेशचन्द्र आचार्य र सचिव जयनारायण कटवालको जाहेरीले सरकारी वकिल कार्यालय खोटाङ मार्फत जिल्ला अदालत खोटाङमा उजुरी परेको थियो । गत साउन ३२ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएको तर प्रहरीले दर्ता गर्न नमानेपछि सरकारी वकिल कार्यालयमा भदौ ४ गते जाहेरी दिएको दिक्तेलमा पत्रकार सम्मेलन आयोजना गरी उमेशचन्द्र आचार्यले बताएका छन् ।
प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले भने यथेष्ट प्रमाणहरू नभएकाले दर्ता नभएको र यसबारेमा सरकारी वकिलसंग परामर्श लिन सल्लाह दिएको बताएका छन् । नगर उपप्रमुख राईले अपाङ्गता भएका व्यक्तिको सम्मान र भावनामा चोट पुग्ने किसिमको नबोलेको बताएका छन् । राजनीतिक प्रतिशोधका कारण भिडियो र अडियो सम्पादन गरेर नियतबस आफू विरुद्ध उजुरी दिएको समेत राईले बताए ।
मुद्दा दर्ता गर्ने समय सिमा नाघिसकेपछि दर्ता गरिएको र यसको विषयमा जिल्ला अदालतका निमित्त श्रेस्तेदार किरणकुमार राई र कानुन व्यवसायीहरू बीच विवाद भएको विसन राईले नियुक्त गरेको कानुन व्यवसायी अधिवक्ता ओमप्रकाश घिमिरेको भनाई छ । उक्त विषयमा नेपाल बार एशोसियसनका केन्द्रीय सदस्य नारायणदास राई, जिल्ला अध्यक्ष कुलप्रसाद फुयाल, सचिव घिमिरे, अधिवक्ता लक्ष्मीकुमार राईले प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित