लाखे जात्राको १२ औ दिन : दिवङ्गत भएका पितृको सम्झना (भिडियो सहित)

  • प्रकाशित मितिः भदौ ४, २०८१
  • 348 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ४–नेवार समुदायको मौलिक संस्कृतिको रूपमा मनाइने लाखे जात्रा भदौ ४ गते दिवङ्गत भएका पितृहरूको सम्झनामा श्रद्धान्जली अर्पण गर्दै रामायण जीवनी गाइएको छ । वर्षभरि दिवङ्गत भएका पितृहरूको सम्झनामा श्रद्धान्जली अर्पण गर्दै रामायण जीवनी गाइएको हो ।
‘लाखे सुरु भएको आज दशौ दिनमा दिवङ्गत भएका पितृहरूको सम्झनामा रामायण जीवनी गाइएको छ,’ दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार श्रेष्ठले भने–‘भोलि रोपाइँ जात्रा हुन्छ, एबम् रीतले कृष्णजन्मष्टमीको भोलिपल्ट यो वर्षको लाखे बिसर्जन हुन्छ ।’
काठमाडौं उपत्यकाका बालबालिक हराउने गरेको र उक्त बालबालिका राक्षसले खाएको हुनाले राक्षसरूपी लाखे बनाएर राक्षसलाई परास्त गरी बालबालिका जोगाएको नेवार समुदायमा कथन छ । गठ्यमङ्गलदेखि कृष्णजन्मअष्टमीसम्म लाखे जात्रा प्रदर्शन गर्ने परम्परा भए पनि पछिल्लो समयमा भने नागपञ्चमीदेखि कृष्णजन्मष्टमीसम्म लाखे नाँचेर कृष्णजन्मष्टमीको भोलिपल्ट कृष्णरथयात्रा सहित सेलाउने गरेको दिक्तेल बजार सामाजिक गुठीका कोषाध्यक्ष इन्द्र कजसुको भनाई छ ।
कुनै कुनै ठाउँमा जनै पूर्णीमादेखि कृष्णजन्मष्टमीसम्म लाखे नाँचर कृष्णजन्मष्टमीको भोलिपल्ट अन्त्य गर्ने परम्परा रहेको कसजु बताउछन् । ‘समय व्यवस्तता र युवा पलायनताका कारण मुस्किलले संस्कृति धान्ने मात्र भइरहेको छ’ कसजुले भने–‘गठ्यमङ्गलदेखि कृष्णजन्मअष्टमीसम्म लाखे जात्रा प्रदर्शन गर्ने परम्परा भए पनि आजभोलि नागपञ्चमीदेखि कृष्णजन्मष्टमीसम्म लाखे नाँचेर कृष्णजन्मष्टमीको भोलिपल्ट सेलाउने गरेको पाइन्छ, कुनै कुनै ठाउँमा जनै पूर्णीमादेखि कृष्णजन्मष्टमीसम्म मात्र लाखे नाँचर कृष्णजन्मष्टमीको भोलिपल्ट अन्त्य गर्ने परम्परा छ ।’
यो वर्षको लाखे विशेष भएको स्थानीय खुसनारायण सैंजूले बताए । दिक्तेलमा जन्मिएर काठमाडौंमा भएकाहरू आएकाले विशेष भएको हो । पछिल्लो समयमा संस्कृतिप्रतिको सचेतना बढेकाले जन्मथलोमा निकालिने लाखे जात्रामा सहभागी हुन आएको टंक श्रेष्ठको भनाई छ । धर्म, संस्कृति, पहिचानलाई ध्यानमा राखेर जन्म थलो आएको रुद्र जोशीले बताए । ‘धर्म, संस्कृति, पहिचान भन्ने कुरा महत्वपूर्ण हुन्छ’ जोशीले भने–‘हाम्रो सालनाल यही छ, बाल्यकाल यही बित्यो, अनि यहाँ नआएर के गर्ने त ?’
पछिल्लो समयमा युवापङ्तिले संस्कृतिप्रति चासो नदिएकाले चासो जगाउँन पनि लाखे जात्रामा दिक्तेल आएको फडिन्द्र सैजूले बताए । ‘पछिल्लो समय युवापङ्ति संस्कृतिप्रति चासो हट्दै गएको छ,’ सैंजूले भने–‘युवामा संस्कृतिप्रति मोह जागोस् भनेर पनि यो वर्षको लाखेमा दिक्तेल आइएको हो ।’
खोटाङमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, सोल्मा, खाल्ले, दोबेला, खार्मी, जालपा, बुइपा, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क, हलेसी तुवाचुङ नगरपालिकाको सल्ले, अर्खौले, रावाबेसी गाउँपालिकाको लामीडाडाँ, खोटेहाङ गाउँपालिकाको खोटाङबजार, बाराहापोखरी गाउँपालिकाको बाराहापोखरी, जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी लगायतका ठाउँहरूमा लाखे जात्रा प्रदर्शन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित