सविना अछामे–
खोटाङ, साउन ७–तरुण दल खोटाङका सभापति काजीमान राई राजनीति बाहेक निर्माण व्यवसायमा आबद्ध छन् । राजनीतिका लागि खर्च जोहो गर्न निर्माण व्यवसायमा लागेको बताउँछन् । उनका अनुसार निर्माण व्यवसायबाट वार्षिक करिव २० लाख आम्दानी हुन्छ । ‘राजनीति गर्न खर्च चाहिन्छ, त्यसकै लागि निर्माण व्यवसायमा लागेको हुँ’–राईले भने–‘अहिलेको जमानामा पैसा विना राजनीति हुदैन, राजनीतिका लागि पैसा कमाउनु पर्ने रहेछ ।’
राईका अनुसार कांग्रेस भातृ संगठन तरुण दलमा करिब १२ सयको हाराहारीमा युवा आबद्ध छन् । यसमध्ये रोजन राई, भीषण राई, दिनेश राई, सतेन्द्रसिं ठकुरी, सञ्जयकुमार राई र जयकुमार तामाङ तरुण दल केन्द्रीय सदस्य हु्न । उनीहरूमध्ये भीषण राई नाम चलेका निर्माण व्यवसायी हुन् ।
एमाले भातृ संगठन युवा संघ नेपालका जिल्ला अध्यक्ष रोसन राई कोशी प्रदेश सामाजिक विकास मन्त्रीका स्वकीय सचिव हुन् । स्वकीय सचिव लगायत उनी निर्माण व्यवसायी र मोटरसाइकल वर्कसप सञ्चालक पनि हुन् । यसबाट मासिक ८०–९० हजार रूपैयाँको हाराहारीमा कमाइ हुने राईको भनाई छ । ‘राजनीति गर्नका लागि पैसा चाहिन्छ’–राईले भने–‘अहिले आफू लगायत श्रीमती र परिवारका सदस्यहरूबाट आर्थिक जोहो भइरहेको छ ।’
त्यसै युवा संघ खोटाङका सचिव विज्ञान राई पनि जिल्लामा नाम चलेका निर्माण व्यवसायी हुन् । उनी वार्षिक १५–२० लाख आम्दानी हुने बताउछन् । ‘अहिले पाँच वटा योजना सञ्चालन भइरहेको छ’ राईले भने–‘आम्दानीको हिसाव गर्दा चाहिँ १५–२० लाख जति हुन्छ होला ।’
युवा संघ सचिवालय सदस्य नवराज रिजाल पनि क्रसर उद्योगी हुन् । यसबाट राम्रै आम्दानी हुने गरेको रिजाल बताउछन् । युवा संघ दिक्तेल रूपाकोट मझुवागढी नगर कमिटी अध्यक्ष कविराज रिजाल पनि होटल व्यवसायी हुन् । उनले मासिक एक डेढ लाख आम्दानी हुने बताएका छन् । उनीहरू लगायत युवा संघ खोटाङमा आवद्ध ६१ मध्ये १५–२० जना विभिन्न पेशा व्यवसायमा आबद्ध रहेको र २० जना विदेश पलायन भएको रोशनको भनाई छ । यसबाहेक केन्द्रीय सदस्यहरू अनिल राई, विनोद राई, नरदेव राई, सुजता राई, मिसन राईमध्ये अनिल राईले लाहुरे ट्रेनिङ सेन्टर सञ्चालन गरिरहेका छन् । खोटाङको दशै स्थानीय तहका युवा संघमा करिव पाँच सयको हाराहारीका युवाहरू आबद्ध रहेको राई बताउछन्् ।
वाइसीयल नेपालका अध्यक्ष किसान राई पनि राजनीतिको साथ–साथै विभिन्न व्यवसाय सञ्चालन गर्छन् । उनी कृषि, जडिबुटी, वन पैदावर, निर्माण व्यवसायमा आबद्ध छन् । यसबाट वार्षिक १५–२० लाख आम्दानी हुने राई सुनाउछन् । ‘कृषिमा वार्षिक पाँच–सात लाख नियमित रूपमा आम्दानी हुन्छ, जडिबुटी, वन पैदावर, निर्माण व्यवसायमा त कहिले हुन्छ कहिले हुदैन’ राईले भने–‘सबै गरेर १५–२० लाख आम्दानी हुन्छ ।’
उनी लगायत वाइसीय नेपालका केन्द्रीय सदस्य शरद राई जिल्लामा नाम चलेका युवा निर्माण व्यवसाय हुन् । ‘अहिले सानोतिनो गरी तीन वटा काम भइरहेको छ’ राईले भने–‘आम्दानीको कुरा चाहिँ खर्च धान्छ ।’ यसबाहेक वाइसीयलका नेता प्रभात राई, लेख रम्तेल, चेवन बुढाथोकी, जीवनज्योति राई, भूपेन्द्र किराती लगायत निर्माण तथा अन्य पेशा व्यवसायमा आबद्ध छन् । उनीहरूको पनि वार्षिक १५–२० लाखको हाराहारीमा आम्दानी हुने राई बताउछन् । वाइसीयलमा करिब पाँच सय बढी युवा आबद्ध रहेको राईले बताएका छन् ।
जिल्लामा राजनीतिक दल बाहेकका युवाहरू पनि विभिन्न पेशा व्यवसायमा आवद्ध छन् । कुल जनसंख्या एक लाख ७५ हजार दुई सय ९८ मध्ये ७० हजार युवा छन् । यसमध्ये ११ हजार दुई सय सात जना युवा विभिन्न मुलकुमा रोजगारीका लागि गएको जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राई बताउछन् । तर यो भन्दा बढी करिब चालीस हजार जति युवा विदेशिएको हुन सक्ने नेपाल चेम्बर्स अफ कमर्श खोटाङका अध्यक्ष खुसनारायण सैंजूको भनाई छ । बाँकी केही खेती किसानी, केही सानोतिनो पेशा व्यवसाय र केही कर्मचारी छन् । अहिलेको युवाको जीवनशैली भड्किदो छ । एक युवा बराबर सरदर २५–३० हजारको जीवनशैली देखिन्छ । यसमध्ये ब्रान्डेट लत्ताकपडा, जुत्ता, मोटर साइकल, खानपान लगायतलाई हेर्दा २५–३० हजार भन्दा बढी खर्च गर्ने गरेको सैजूले बताएका छन् । युवालाई स्वदेशमै रोजगारी सिर्जना गरे मात्र समृद्धि हासिल हुने सैजूको भनाई छ । ‘स्थानीय तहले युवालाई रोजगारी सिर्जना गर्ने योजना बनाउनु पर्छ, अनि मात्र समृद्धि हासिल हुन्छ’ सैजूले भने–‘विदेशमा बगाउने पसिना स्वदेशमै बगाए यसबाट हुने उत्पादनले मात्र समृद्धि हासिल हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–महालेख�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २८–जन्तेढ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २७–अलपत्र �... ... ...
सविना अछामे–खोटाङ, असार २६–दिप्रुङ चुइचुम्मा �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित