केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकाका भीरहरूमा मह सिकार (भिडियो सहित)

  • प्रकाशित मितिः असार ८, २०८१
  • 590 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ८–सधैंझैं यो वर्ष पनि भीर माहुरीको सिकार गरिएको छ । केपिलासगढी, ऐसेलुखर्क गाउँपालिका लगायतका स्थानीय तहका सामुदायिक वनहरूको विभिन्न भीरहरूमा मह सिकार गरिएको हो ।
किराती समुदायको उभौलीसंगै यहाँका किराती युवा मह सिकारमा जुटेका हुन् । केपिलासगढी गाउँपालिका–१ फेदीका विभिन्न सामुदायिक वनका असार ४ र ५ गते मह निकालिएको छ । चिलिम लाहुरे सामुदायिक वनको माखाम्लास्थित भीर झर्ना, तेराहास्थित तेराभीर लगायतमा भीर माहुरी मह सिकार गरिएको स्थानीय धनकुमार राईले बताए । उनका अनुसार तेराहामा करिब ६० केजी मह निकालिएको छ । माखाम्लास्थित भीर झर्नामा करिब २५ केजी मह निकालिएको स्थानीयले बताए ।


ऐसेलुखर्क गाउँपालिका–१ राखावाङ्देलका सामुदायिक वनहरूका विभिन्न भीरहरूमा मह सिकार गरिएको छ । राखावाङ्देलको आहाले साम्खाई सामुदायिक वन, सिरुखर्क काहुले सामुदायिक वन, लिदुङ खोला तारेभीर सामुदायिक वनका विभिन्न भीरहरूमा मह निकालिएको स्थानीय सुदीप वाङ्देलले बताए । उनका अनुसार खादिम, पयस, गोरुजुरे, ङ्यार्दो, गुराँसे, भस्मे, काहुले लगायतका विभिन्न भीरहरूमा महसिकार गरिएको हो । ‘यो उभौलीमा जेठ १३, १४, १६ र १७ गते मह काडिएयो ।’ उनले भने–‘पहिलो चरणमा १३ र १४ गते मह काडियो, त्यसपछि १५ गते उभौलीको पूजाआजा गरेर फेरि १६ र १७ गते दोश्रो चरणमा मह काडियो ।’


यो वर्ष १४ पोला भीरमाहुरी सिकार गर्दा एक सय ५० लिटर मह निकालिएको वाङ्देलले सुनाए । यसबाट प्रति लिटर चार हजारका दरले ६ लाख आम्दानी भएको उनको भनाई छ । उक्त रकम मह सिकार गर्ने युवाहरूको कमाई हुने वाङ्देलले बताए । सामुदायिक वनले बढाबढको टेण्डरमा मह सिकारका लागि अनुमति दिने गरेको उनको भनाई छ । यो वर्ष आहाले साम्खाई सामुदायिक वनले दुई हजार र लिदुङ खोला तारेभीर सामुदायिक वनले पाँच हजार पाँच रूपैयाँमा टेण्डर पारेर मह सिकार गरिएको वाङ्देलले सुनाए । ‘यो उभौलीमा दुई वटा सामुदायिक वनले टेण्डर खुलाएको थियो, त्यसमा आहाले साम्खाई सामुदायिक वनको दुई हजार र लिदुङ खोला तारेभीर सामुदायिक वनको पाँच हजार पाँच रूपैयाँमा टेण्डर पारेर मह सिकार गरियो ।’


उक्त भीरहरूमा उपभोक्ता बाहेक अन्यले सिकार गर्न नपाइने वाङ्देलको भनाई छ । ‘टेण्डर पनि उपभोक्ताले मात्र हाल्न पाउछ र मह सिकार पनि उपभोक्ताले मात्रै गर्न पाउछ ।’ उनले भने–‘अरुले सिकार ग¥यो भने जरिवाना गरिन्छ ।’ आहाले साम्खाई सामुदायिक वनमा उपभोक्ताले बाहेकले मह सिकार गरेकाले तीस हजार रूपैयाँ जरिवाना गरेको समेत उनले सुनाए ।
केपिलासगढी गाउँपालिका–७ सुङ्देलका विभिन्न सामुदायिक वनका भीरहरूमा पनि भीर माहुरीको मह सिकार गरिएको छ । देवीखर्क सामुदायिक वन, दयालुबमा सामुदायिक वन, बुङबुङे सामुदायिक वनका विभिन्न भीरहरूमा मह सिकार गरिएको स्थानीय भूपिन्द्र कोयी राईले सुनाए । उनका अनुसार झिकुखोला, गोदुखोलाको ढुरुखम, ङदपु, क्लाप्चु, रावाखोला र चेर्खेखोला आसपासका विभिन्न भीरहरूमा मह सिकार गरिएको हो । उक्त भीरहरूमा निकालिएको मह प्रति शेर १५ सयदेखि दुई हजार रूपैयाँले बिक्री गरिएको उनले सुनाए ।
भीर माहुरीले जडिबुटीजन्य फूलहरुबाट मह बनाउँने भएकाले औषधीय गुण भएकाले मुल्य पाउछ ।
यसरी गरिन्छ भीर माहुरीको मह सिकार भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित