यो वर्षको साकेला सिली मैझारो (फोटो, भिडियो सहित)

  • प्रकाशित मितिः असार १, २०८१
  • 977 पटक पढिएको
  • संवादताता

सविन अछामे–
खोटाङ, असार १–किरात ऐले सम्वत ५०८४, अर्थात २०८१ सालको उभौली साकेला सिली मैझारो भएको छ । खोटाङको दिक्तेल माटिकोरे खेल मैदानमा असार १ गते यो वर्षको उभौली साकेला सिली बिट मारिएको हो ।


किरात राई यायोक्खा र किरात सेवा समाजको संयुक्त आयोजनामा भव्यताका साथ यो वर्षको उभौली साकेला सिली मैझारो गरिएको हो । बाली नाली राम्रो होस्, असिना नपरोस्, भल पहिरो, चट्याङ लगायत प्राकृतिक प्रकोप आइनपरोस् भन्ने कामनाका साथ प्रकृतिको पूजाआराधना गर्दै यो वर्षको उभौली साकेला सिली समापन गरिएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातको भनाई छ ।


किराती समुदायले वर्षमा दुई चोटी साकेला सिली नाँचे गर्दछन् । बैशाखे पूर्णीमामा उभौली र मङ्सिरे पूर्णीमामा उधौली चाडको अवसरमा साकेला सिली नाँच्ने गर्दछन् । जलचर तथा थलचर जीव जनवारहरू उभौली लाग्ने बेला बैशाखे पूर्णीमामा उभौली र जलचर तथा थलचर जीव जनवारहरू उधौली लाग्ने बेला मङ्सिरे पूर्णीमामा उधौली चाड मनाउने चलन रहेको किरातले सुनाए ।


उधौलीको अवसरमा मङ्सिरे पूर्णीमामा बाली भित्राउने बेला अन्नको सह बसोस्, अनिकाल नलागोस् लगायतका कामना गर्दै पृथ्वीमा रहेका सम्पूर्ण जीव जनवार तथा प्रकृतिमा कुनै अनिष्ट आइनपरोस् भन्ने कामना गर्दै प्रकृतिको पूजाआराधना गर्ने चलन छ ।


उभौलीको अवसरमा माटिकोरेमा असार १ गते साकेला सिली प्रतियोगिता समेत गरिएको छ । आधुनिक जमानासंगै पौराणीक तथा मौलिक साकेला सिली संकटमा परेकाले उक्त पौराणीक तथा मौलिक साकेला सिलीलाई संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएको किरातको भनाई छ ।


प्रतियोगितामा किरात राई यायोक्खा देउराली भोजपुर प्रथम, रतन्छा युवा जनसांस्कृतिक समुह साकेला गाउँपालिका–२ खोटाङ दोश्रो, पारुहाङ सेवा समाज रतन्छा खोटाङ तेश्रो र कर्णकुमारी समूह दोर्पा आहाले खोटाङ चौथो भएका छन् । प्रथम, दोश्रो, तेश्रो र चौथो हुने टिमले क्रमशः २० हजार, १५ हजार, दश हजार र पाँच हजार नगद तथा प्रमाणपत्र पाएका छन् । प्रतियोगी टिमलाई शिर उभाउनी वापत दुई हजारका दरले नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा २३ टिम सहभागी थिए ।


साकेला सिली किरातीहरूले मात्र नभइ सबै जातजाति तथा धर्म समुदायले समेत नाँच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको छ ।
भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित