गुम्दै गएको मौलिकता र दिगो विकासको सवाल

  • प्रकाशित मितिः फाल्गुन २६, २०७५
  • 2048 पटक पढिएको
  • संवादताता

ध्रुब श्रेष्ठ-

गाउघरको मौलिकता हराउदै जादा अनि आफ्नै उत्पति, पहिचान, स्वाभिमान्, आदिमता र परम्परागत जीवनशैलीकोे अस्तित्व मेटाउने विकासले हाम्रो समाजलाई कतातिर लैजान्छ ?

गत कात्तिकमा तिहारको बिदा मनाउन भन्दै अमेरिकी शैक्षिक संस्था काठमाण्डौैमा कार्यरत मेरा एक अमेरिकी साथी एबम् वातावरणीय इतिहासविद् थोमस रवर्टशनसंग खोटाङ जाने निधो भयो । काठमाण्डौंदेखि सुरु भएको हाम्रो दुईपाङग्रे सवारी साधनको यात्रा नुनथला आइपुगेपछि तुर्ने सहमति अनुसार बाँकी बाटो हामीले पैदल हिडेरै काट्यौं । तर बाटोमा गुडेका सवारी साधनहरुले उडाएको उकुसमुकुसयुक्त धुँवा र धुलो आफ्नो शरीरबाट टक्टक्याउदै उनले मलाई नेपाली समाज, संस्कृति र पर्यावरणसम्बन्धी केही गहन विषयहरु उठान गरे । विगत ३० वर्षदेखि नेपाली सामाज, अर्थव्यवस्था, पर्यावरण, राजनीति एबम् संस्कृतिका विविध पक्षहरुलाई प्रत्यक्ष र नजिकबाट नियाल्दै आएका थोमसले उठाएका ती सवालहरु जायज थिए । उनले उठाएका सवाल उपर मैले अलि गम्भीर भएर सोचे र विगत दुई तीन दशकमा ग्रामीण नेपाली समाज, संस्कृति, राजनीति, पर्यावरण, अर्थव्यवस्था आदिमा आफूले प्रत्यक्ष देखेका एबम् महसुस गरेका कुराहरु एकपछि अर्को मनमा खेल्न थाले । यस लेखमा परिवर्तित ग्रामीण समाजिक, सांस्कृतिक, पर्यावरणीय, राजनीतिक, एबम् आर्थिक पक्षमा देखिएका परिवर्तन र उतारचढावलाई चित्रण गर्ने कोशिस गरिएको छ । 
हुन पनि हामी हिडिरहेको धुले बाटोमा बेपर्वाह कुद्दै गरेका ट्रयाक्टर र उसले उडाउदै गएको धुलोले नै उनलाई पर्याप्त प्रमाण दिदै थियो ग्रामीण सडकहरुको हबिगत कस्तो छ भनेर । विगतमा हामीले दुर्गम ग्रामीण पहाडी भेग ठान्ने गरेको भूगोलतिर आँखा डुलायौ भने कुनै पनि त्यस्तो बस्ती बाँकी छैन होला जहा सडकको नाम र विभिन्न स्वार्थमा जेलिएर जमिन च्यातचुत पारेको नहोस् । पछिल्लो एक डेढ दशकयता देशैभरि सरकारी रकम मार्फत ठूला मेसिनरी औंजारको प्रयोगले प्राकृतिक एबम् सामाजिक÷सांस्कृतिक सम्पदा, खेतीयोग्य जमिन, वनजंगल, मानव बस्ती र भीर पाखाको परिदृश्य बदलिएको छ । दीर्घकालीन योजना, आवश्यक पूर्वतयारी र सडकको प्राविधिक रेखाङ्कन पूरा नगरी डोजर एबम् ठूला मेसिनरी औजार चलाएर पाखापखेरा उधिन्ने बित्तिकै सडक बनि हाल्छ भन्ने मान्यताले ऐतिहासिक, सामाजिक एबम् सास्कृतिक महत्वका सम्पदाहरु ः–कुवा, कुलो, चौतारो, पाटीपौवा, मठ–मन्दिर, पानीको मुहान र गोरेटो बाटो लगायतका संरचना तथा वनजंगल, चराचुरुङगी, जीवजन्तु र खेतीयोग्य जमिनहरु कति विनास भइसके र कति विनासको जोखिम नजिक छन् । विभिन्न अध्ययन अनुसार सङ्घीय स्वरुपमा देश गएपछि स्थानीय सरकारहरुद्वारा बनाइएको पहिलो बजेटको करिव ८० प्रतिशत रकमको पहिलो प्रथमिकतामा सडक निर्माण परेका छन् । यस अतिरिक्त लामो समयदेखि विभिन्न सरकारी निकायहरुबाट सडक निर्माणमा भएका लगानीको जोड निकाल्ने हो भने जो कोहीले जिब्रो टोक्ने कुरामा सन्देह छैन । यसरी अन्धाधुन्ध ठूला औजार तथा मेसिनरी सामग्रीको प्रयोगले पाखापखेरामा मात्र नभई राज्यको ढुकुटीमा समेत धुलो उडाइदिएको अनुमान लगाउन गाह्रो छैन । तुलानात्मक रुपमा अत्यन्त कमजोर तथा निम्न आर्थिक स्तर भएका आम ग्रामीण नागरकिहरु सडकले गर्दा घरबार तथा सम्पत्ति गुमाई सुकुम्बासी हुन पुगेको गुनासो गाउँघरमा प्रसस्त सुन्न सकिन्छ जसले उनीहरुको दैनिकी र जीवनयापनमा प्रतिकूल प्रभाव पारेको छ । यस यथार्थले एउटा सचेत नागरिकलाई सरकारी स्रोत र साधनको न्यायोचित वितरण कुन हदसम्म भयो भन्ने तथ्यको खोजी गर्न थप उत्प्रेरित गर्दछ ।
ग्रामीण नेपाली समाजले क्रमिक रुपमा आफ्नो मौलिकता गुमाउँदै गएको आभास मिल्छ । परापूर्वकालदेखि आफ्नै श्रम र सीपद्वारा हाम्रा पूर्खाहरुले बिकट र विशाल भीर–पहारा फोरेर बनाएका कुलो, नहर, बाटोघाटो, चौतारो, मठ–मन्दिर, पाटी पौवा, ढुङ्गेधारादेखि ऊ बेलामा औशत आठ–दश जनाको परिवारलाई वर्षभरी धान्ने आवादी जमिनहरु उनीहरुको मृत्यु वा बढ्दो उमेरसंगै बेस्याहार र प्रयोग विहीन जस्तै देखिन्छ । वैदेशिक रोजगारीको उर्लँदो भेलले सोहोरेर अधिकांश युवालाई वैदेशिक भूमिमा पु¥याएपछि श्रम शक्तिको अभाव र युवा जमातको कृषिप्रतिको विकर्षणले गर्दा भत्किएका खेतबारीका कान्लाहरु वर्षौदेखि अलपत्र छन् । लामो समयदेखि प्रयोगमा ल्याइएका पानीघट्ट, ढिकी, जाँतो, ओखल, चँदारा, तेल पेल्ने कोल, खाँडी तथा राडीपाखीको तान, धागो कात्ने चर्खा, फलामे आरन लगायतका परम्परागत सीप र प्रविधिमध्ये धेरैको प्रयोग हाम्रा बाबु–आमा पुस्तासंगै पूर्ण रुपमा हराएर जाने लगभग निश्चित छ । बढ्दो शहरीकरण र आधुनिकीकरणसंगसंगै व्यक्तिगत स्वतन्त्रताको नाममा मौलाएको एकल परिवारको संस्कार तथा  संयुक्त परिवारको खण्डीकरणले यीनै सीप र प्रविधिका सर्जक बृद्धबृद्धाहरु आवश्यक पोषणयुक्त खानपान, औषधोपचार र स्याहार संसारको अभावमा केवल काल कुर्न वाध्य छन् । 
बढ्दो शहरीकरण, आधुनिकीकरण र उपभोक्तावादी संस्कारले ग्रामीण समाजलाई क्रमिक रुपमा परनिर्भरतातर्फ धकेलिरहेको छ । आफूलाई आवश्यक पर्ने बिऊबिजन, अन्नपात, पशुपंक्षी आफै जोहो गर्दै हत्तपत्त अन्त माग्न वा किन्न नजाने घरपरिवार बजारमा आश्रित हुन थालेका छन् । परम्परागत एबम् प्रकृतिमा आधारित अन्न तथा बिऊ भण्डारणका तौर तरिकाहरु लोप हुदै जाँदा रैथाने एबम् जैविक प्रजातीका अन्नपात, बिऊबिजन तथा पशुपंक्षी गाउँघरमा भेट्न मुस्किल छ । करिव वीस–पच्चीस वर्षअघि सरदर एक सय रुपैयाँले औशत छ–सात जनाको परिवार धान्ने घरखर्चको दर अहिले अनुमान गर्नै नसकिने गरी आकाशिएको छ । डाली, भकारी, ठेकी, ढिकुटी आदिमा साँचेर राखिने खाद्य पदार्थलाई अहिले टोलटोलका किराना पसलमा आकर्षक प्याक, रङ, फरक–फरक स्वाद् र आकारमा भेटिएका आयातित वस्तुले विस्थापित गर्दै लगेको छ । गाउँघरका साना तथा ठूला पसल आयातीत खाद्य वस्तु, रक्सी र पेय पदार्थले भरिभराउ छन् । गाउँघरमा असरल्ल भेटिने विभिन्न ब्राण्डका रक्सी तथा पेय पदार्थका खाली बोतल अनि प्लाष्टिकहरु हामीले अपनाउँदै गएका परनिर्भर जीवनशैलीका प्रष्ट सूचक हुन् । 
आजभोलि गाउँघरमा खानपानको शैलीमा उल्लेख्य परिवर्तन आएको छ । बाटो हिडने बटुवा होस् या अर्मपर्म, मेलापात गर्ने खेताला र विद्यालय जाने केटा–केटी होस या ७० वर्ष उमेरमाथिका बृद्धबृद्धा उनीहरुको खानपान परिकारहरुमा हाम्रा पूर्वजहरुले खादै आएका मकै, गहुँ, फापर, कोदो, भट्मास, कन्दमुल, आलु, गहतजस्ता रैथाने खानपान आजकाल बिरलै पर्न थालेका छन् । गाउँघरमा विभिन्न प्रतिकूलताका बीच उत्पादन भएका कोदो, मकै, गहुँ, फापर आदि बालीलाई हेला गर्दै आयातित उपभोग्य वस्तु एबम् पेय पदार्थको खरिद र उपभोग अब नयाँ रहेन । खाजाको रुपमा झोला तथा फिपीभरि मकै, भटमास, आलु, रोटी, पुवा, खट्टे खाजा तथा मौसम अनुसारको कन्दमुल बोकेर हिड्ने बटुवालाई अहिले बिसाउँनी पिच्छे भेटिने तैयारी खाजा र पेय पदार्थले हाइसञ्चो बनाइदिएको छ । पछिल्लो समय गाउँघरमा खुलेका त्यस्ता किराना पसलहरु बिरलै होलान् जसले तयारी खाद्य वस्तुको साथमा चटपटे र पानी–पुरी बेच्न छुटाएको होस । यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पु¥याउँनुका साथै फजुल खर्चको संस्कार ह्वात्तै बढाइदिएको छ । 
क्षणिक भए पनि शहरी कोलाहल र कृतिमताबाट टाढा रहँदै प्राकृतिक सुन्दरता, वातावरणीय स्वच्छता, सामाजिक एबम् सांस्कृतिक विविधता र जैविक शुद्धताको स्वाद लिन चाहने जो कसैको मन अहिले बेचैन छ । जब तपाईले आफ्नै आँखा र मनले यी कुराहरु देख्न र प्रत्यक्ष अनूभव गर्न थाल्नुहुनेछ तब तपाईको मानसपटलमा प्रश्न र प्रतिप्रश्नहरुको चाङ लाग्न थाल्नेछ । गाउँघरको मौलिकता हराउँदै जाँदा अनि आफ्नै उत्पति, पहिचान, स्वाभिमान्, आदिमता र परम्परागत जीवनशैलीकोे अस्तित्व मेटाउँने विकासले हाम्रो समाजलाई कतातिर लैजान्छ ? सामाजिक, आर्थिक र वातावरणीय सन्तुलन बिनाको विकास र समृद्धिले हामीलाई कहि पनि पु¥याउँदैन । आत्मनिर्भर सहितको दिगो विकास आजको वस्तुगत यथार्थ हो यसलाई आजैदेखि मनन् गरौं र यसको व्यवहारिक कार्यान्वयनमा हातेमालो गरौं ।
(लेखक सामाजिक अभियान्ता हुन् ।)
प्रकाशित मिति २०७५ फागुन २६  

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित