खोटाङमा बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव हुने

  • प्रकाशित मितिः बैशाख ११, २०८१
  • 115 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ११–जिल्लामा ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ हुने भएको छ । आगामी बैशाख ३१ देखि जेठ १० गतेसम्म दिक्तेलमा हुने भएको हो ।
महोत्सव अन्तरगत बैशाख–३१ गतेदेखि जेठ–१ गतेसम्म एथ्लेटिक्स, जेठ–३ गते राष्ट्रिय कविता लेखन प्रतियोगिता, जेठ–६ गते खुला गायन प्रतियोगिता र जेठ–८ गतेदेखि १० गतेसम्म खुला राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन गर्ने आयोजकले जनाएको छ ।
एथ्लेटिक्सतर्फ आठ इभेन्टस् (विद्या)मा प्रतिस्पर्धा हुने छ । १२ वर्षमुनिका छात्रछात्रा र ६० वर्षमाथिका पुरुषका लागि एक÷एक माइल (१६०० मिटर) दौड, आमाहरुको लागि तीन किलोमिटर दौड, १५ वर्षमुनिका छात्रछाका लागि पाँच किलोमिटर दौड, ३५ वर्षमाथिका नेता, जनप्रतिनिधि, पत्रकार, कर्मचारी र शिक्षकका लागि पाँच किलोमिटर दौड, १५ वर्षमाथिका खुला महिला÷पुरुषका लागि दश किलोटिर दौड र खुला महिला÷पुरुषका लागि २१.०९७ किलोमिटर हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको छ ।
हाफ म्याराथनमा प्रथम, दोश्रो, तेश्रो, चौथो, पाँचौ, छैटौं र सातौं हुने महिला÷पुरुष धावकलाई समान रुपले क्रमशः ७५ हजार, ५० हजार, २५ हजार, १५ हजार, १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । १२ वर्षमुनिका छात्रछात्रा र ६० वर्षमाथिका पुरुष, आमाहरु, १५ वर्षमुनिका छात्रछात्रा, ३५ वर्षमाथिका नेता, जनप्रतिनिधि, पत्रकार, कर्मचारी र शिक्षक तथा १५ वर्षमाथिका खुला महिला÷पुरुष दौड प्रतियोगिताका विजयीलाई समेत नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने राईले बताए ।
राष्ट्रिय कविता लेखन तथा गायन प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, चौथो र पाँचौँ हुनेलाई क्रमशः ४०, २५, १७, ११ र सात हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । यी दुई विद्याका प्रतियोगिता खोटाङ कलाकार समाज काठमाडौँ, रावा–सावा प्राज्ञिक समाज नेपाल र ट्याम्के–तुवाचुङ प्रतिष्ठान खोटाङको सहकार्यमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।
जेठ–६ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय कराँते प्रतियोगितामा सातवटै प्रदेश, सोतोकान कराँते, गोजोरियो कराँते, वादोरिया कराँते र आयोजकसहित ११ टोली सहभागी हुने प्रष्ठिानका अध्यक्ष राईले बताए । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिने प्रतियोगितामा महिला÷पुरुष टोली प्रथम, दोश्रो, तेश्रो र चौथो हुनेले क्रमशः एक लाख ११ हजार १११, ५५ हजार ५५५, ३३ हजार ३३३ र २२ हजार २२२ नगद पुरस्कार पाउने छ ।
प्रतियोगिताका उत्कष्ट महिला÷पुरुष खेलाडीलाई २२ हजार २२२ तथा उत्कृष्ट व्यवस्थापकलाई ११ हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
महोत्सवमा करिब ५२ लाख खर्च हुने राईले बताए । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने लगायतका उद्देश्यले खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सवको तयारी गरिएको राईले सुनाए । ‘चन्दादाताहरूबाट उठ्ने रकमबाट महोत्सव आयोजना गरिएको हो ।’ राईले भने–‘आशा छ पवित्र उद्देश्यका लागि सबैले साथ दिनुहुने छ ।’
उक्त महोत्सव सम्पन्न गर्नका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा १५ सदस्यीय महोत्सव मुल समारोह समिति गठन गरिएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा हुने उक्त महोत्सवका लागि विभिन्न ९ वटा उपसमितिहरू समेत गठन गरिएको मुल समारोह समितिका सदस्य सचिव तथा प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले बताए ।
उक्त उपसमितिमा नेपाल पत्रकार महासंघको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको संयोजकत्वमा शान्ति सुरक्षा व्यवस्थापन उपसमिति, खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन गरिएको राईले बताए । दिक्तेल बजारमा हुने महोत्सवमा करोडौँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित