(कविता) च्यास्मिटार

  • प्रकाशित मितिः फाल्गुन ७, २०७५
  • 3781 पटक पढिएको
  • संवादताता

चित्रकुमार सुवेदी–
उज्यालो नहुदै
कुवा धारो खोज्न हिडेका गाग्रीहरु
काठमाडौं र धरानबाट
झण्डावाला कार आइपुग्दा समेत
घर आइपुग्दैन
दूधकोसी बगेर
सुनकोसी बगेर
भारदहको पुल तरिसक्दा
गाग्रीको पानी भन्दा
पसिनाको धारा धेरै बगाएर
बल्ल तल्ल घर आइपुग्छन्
च्यास्मिटारे आमाहरु
भोकको कुरै नगरौं
थकानको कुरै नगरौं
घा“स, दाउरा र मेलापात
अध्यारो अनुहार लाएर
उराठ मनले
रुन्चे स्वरमा गुनासो गर्छ च्यास्मिटार
म कस्तो अभागी
पानीमा खुट्टा डुबाएर
रात दिन पानीमाथि उभिएर
एक थोपा पानी मुखमा हाल्न नपाई
सदियौंदेखि बा“च्नु परिरहेको छ
मिनिरल वाटरले
हात मुख धुदै र खादै
चुठ्दै र खुट्टा पखाल्दै
छातीबाट कुदिरहेको छ सरकारी गाडी
बोतलको पानीले नुहाएर
सबै नेपाली सुखी भएको
सबै नेपाली समृद्ध भएको
घर–घरमा बिजुली र खानेपानी
आफ्नो सफलताको कथा
पेश गरिरहे छन् जनप्रतिनिधि
तिर्खाले मुख प्याक–प्याक पार्दै
लामबद्ध भएर सकिनसकी
गाइरहेछन् राष्ट्रिय गान विद्यार्थी
सुसाएको सुसाएकै छ दूधकोसी
सुसाएको सुसाएकै छ सुनकोसी
धेरै भोट झरिसकेको छ
पानीको नाममा
तर दुबैतिर बडेमानको कोसी बगाएर
काकाकुल झै
तिर्खाएको तिर्खाएकै छ च्यास्मिटार
कहिले पिउन पाउ“छ ?
दूधकोसीको पानी च्यास्मिटारले
सुनकासीको पानी च्यास्मिटारले ।
प्रकाशित मिति २०७५ फागु्न ७

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित