वन डढेलो नियन्त्रण गर्न सिसी क्यामरा

  • प्रकाशित मितिः बैशाख ७, २०८१
  • 140 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, बैशाख ७—वन डढेलो नियन्त्रण गर्न विभिन्न डिभिजनल वन कार्यलयहरुले सिसी क्यामरा राख्न सुरु गरेका छन् । जङ्गलमा लाग्ने अधिकांश डढेलो मानवीय कारणले भएको भन्दै नियन्त्रणका लागि सिसी क्यामरा राख्न सुरु गरिएको हो ।
चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा जंगलमा फाल्ने, जंगलमा घाँस पलाउने भन्दै जानाजान आगो लगाउनेलगायत मानवीय गतिविधिका कारण जङ्गलमा आगो लाग्ने गरेको डिभिजनल वन अधिकृतहरुको भनाइ छ । सिसी क्यामरा जडान गरेर डढेलो लगाउनेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउन वनविद्हरुको सुझावपछि सिसी क्यामेरा जडान थालिएको हो ।
कपिलवस्तुका डिभिजनल वन अधिकृत विजय सुवेदीले मानिसले जानाजान जंगलमा आगो लगाउन थालेपछि नियन्त्रणका लागि सिसी क्यामरा जडानको कार्य अगाडि बढाइएको बताए । उनका अनुसार अहिले दुई वटा सिसी क्यामरा जडान भइरहेको छ । अन्य ठाउँमा पनि क्यामरा जडान प्रक्रियालाई प्रथिमकतामा राख्ने योजना बनाएको सुवेदीले सुनाए ।
नेपाल प्राविधिक सङ्घका अध्यक्ष राकेश कर्णले पनि सिसी क्यामरा जडान गरेमा डढेलो नियन्त्रणमा सहज हुने बताए । मानवीय गतिविधि नियन्त्रण गर्नका लागि पनि वन क्षेत्रमा सिसी क्यामरा जडान गर्नु उचित भएको उनको भनाई छ ।
मानिसले जङ्गलमा आगो लगाएमा कानुनी कारबाहीको व्यवस्था छ । वन ऐन, २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था गरिएको छ । यस कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ ।
वन डढेलो व्यवस्थापन रणनीति, २०६७ ले डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायका परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रिम जानकारी लिनका लागि पूर्वतयारी गर्नेलगायतका लक्ष्य राखेको छ । वन डढेलो नियन्त्रण गर्न सरोकारवालाहरुले ऐन तथा नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित