बुवा–आमाको नाममा शैक्षिक अक्षयकोष स्थापना

  • प्रकाशित मितिः चैत्र २२, २०८०
  • 108 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका दलसेर राई र उनकी श्रीमती चामकुमारी राईको नाममा पाँच लाख रूपैयाँको अक्षयकोष स्थापना गरिएको छ । उनका छोरा–छोरीले स्थानीय सुर्केडाँडा आधारभूत विद्यालयमा शैक्षिक अक्षयकोष स्थापना गरिदिएका हुन् ।
जेठा छोरा बेलायती सेनाका पूर्वमेजर मिलन राई, कान्छा छोरा रामचन्द्र राई र छोरीहरु अनुता राई, अविसरा राई, अन्जना राई र अम्बिका राईले उक्त अक्षयकोष स्थापना गरिदिएको विद्यालयकी प्रअ विमला सुन्दासले बताइन् । उक्त अक्षयकोषमा जम्मा भएको रकमबाट आएको ब्याजले वार्षिक रूपमा एक जना उत्कृष्ट विद्यार्थी, सबैभन्दा बढी विद्यालय उपस्थित हुने एक जना विद्यार्थी र कक्षा–७ को वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने एकजना छात्रछात्रालाई पुरस्कृत गरिने राईले बताए । अक्षयकोषमा जम्मा गरिएको रकमको चेक चैत २१ गते विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमार राई र प्रअ विमला सुन्दासलाई हस्तान्तरण गरेका हुन् ।
विद्यालय स्थापनाका लागि राई दम्पतीले साढे तीन रोपनी जग्गा समेत विद्यालयलाई निःशुल्क उपलब्ध गराएका थिए । २०४२ सालमा स्थापना भएको उक्त विद्यालयमा ९१ विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालयमा तीनदेखि कक्षा १–३ सम्म अङ्ग्रेजी माध्यममा पठन÷पाठन शुरु गरिएको प्रअ सुन्दासले बताइन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित