विजयखर्कमा भूकम्प पीडितका लागि बनाइएका एकीकृत वस्ती अलपत्र

  • प्रकाशित मितिः चैत्र २०, २०८०
  • 129 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २०–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा भूकम्प पीडितका लागि बनाइएका घरहरू रित्तै छन् । यहाँका भूकम्प पीडितका लागि बनाइएका एकीकृत वस्तीका घरहरू बाख्रा राख्ने खोरको रूपमा परिणत भएको छ ।
घरको झ्याल–ढोका लगाइएको छैन । खानेपानी, बिजुली, सौचालय, घेराबारा लगायतका पूर्वाधार नबनेकाले बस्न नसकिएको भूकम्प पीडितहरूले गुनासो गरेका छन् । बनेका संरचनाहरू पनि गुणस्तरहीन भएकाले बस्न जोखिम भएको पीडितहरूको दुखेसो छ । घर र संरचनाका लागि निर्माण समितिका अध्यक्ष प्रमेश ढकालले भूकम्प पीडितहरू र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ ओखलढुङ्गाबाट रकम लिए पनि काम अपूरो राखेको पीडितहरूको गुनासो छ । वस्तीका लागि आवश्यक पूर्वाधार नभएकाले बस्न नसकिएको उदयबहादुर कार्कीले बताए । ‘डिपिआरमा भएका मापदण्ड अनुसार बनाइएको छैन,’ कार्कीले भने–‘अनि त्यस्तो ठाउँमा कसरी बस्न सकिन्छ ?’
वस्ती निर्माणमा अनियमितता भएको र यसलाई छानविन गर्नु पर्ने भूकम्प पीडितहरूले बताएका छन् । कहाँबाट कति रकम आयो भन्ने सार्वजनिक नगरिएको, कामै नसकी वडालाई हस्तान्तरण गरिएको लगायतको गुनासो गरेका हुन् । पीडितको गुनासोपछि नगर उपप्रमुख विसन राईको संयोजकत्वमा छानविन समिति बनेको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । यसबारेमा अध्ययन भइरहेको उपप्रमुख राईले बताए । उक्त वस्ती निर्माण समितिका अध्यक्ष प्रमेशले भने उक्त वस्तीको सबै काम सकेर २०७७ असार ३० गते निवर्तमान वडाअध्यक्ष विरेन्द्र ढकाललाई बुझाएको बताए ।
गुणस्तरहीन भएको भन्ने बारे ल्याप परीक्षण गराएर गुणस्तर पुष्टि भएपछि वडालाई हस्तान्तरण गरिएको ढकाल बताउँछन् । झ्याल ढोका बाहेक अरु सबै काम सकिएको र ओखलढुङ्गाको प्राधिकरणका कर्मचारी आएर उनीहरूले नै वडालाई हस्तान्तरण गरेको निवर्तमान अध्यक्ष ढकालले बताए । ‘बनाउँदा–बनाउँदै बजेट सकिएकाले झ्याल–ढोकाका लगाउँन नसकेको र त्यसका लागि नगरपालिकाले बजेट दिने भनेको थियो,’ ढकालले भने–‘कार्यकाल सकिएपछि त्यत्तिकै भयो ।’


उक्त संरचनाका लागि १९ भूकम्प पीडितहरूबाट तीन लाख रूपैयाँका दरले र पूर्वाधार निर्माणका लागि पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ ओखलढुङ्गाबाट आर्थिक वर्ष २०७६÷७७ मा ५७ लाख ५४ हजार ९५९ संझौता भएको तर यसमध्ये भूकम्प पीडितबाट दुई लाख ५० हजार रूपैयाँका दरले ४५ लाख र प्राधिकरणबाट करिब ५२ लाख रूपैयाँ मात्र निकासा भएको निर्माण समिति अध्यक्ष ढकाल बताउँछन् । भूकम्प पीडितहरूले ५० हजार रूपैयाँका दरले रकम नदिएकाले झ्याल–ढोका लगाउँन नसकिएको ढकालको भनाई छ । ‘धेरैले भ्रष्ट्राचार भयो भनेर हावा लगाएका छन्,’ ढकालले भने–‘पीडितहरूले नै पैसा नदिएपछि कसरी झ्याल–ढोका लगाउँन सकिन्छ त ?’
यसबाहेक दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट पनि एक लाख ९४ हजार उक्त वस्तीमा खर्च भएको छ । वस्ती मुनिको क्षेत्रमा पहिरो नियन्त्रणका लागि उक्त रकम दिएको प्रमेश बताउँछन् । ‘वस्ती निर्माणका लागि फाउण्डेसन बनाउँन अघिनै नगरले दिएको हो’ उनले भने–‘फाउण्डेसन सम्याउँनका लागि पनि नगरले जेसिबी दिएको हो ।’
ओमप्रकाश घिमिरे, रोहित वास्तोला, चन्द्रमायाँ ढकाल, हिरामायाँ पौडेल, रमेश खनाल, जुजुमायाँ श्रेष्ठ, रणबहादुर भुजेल, हेमसागर ढकाल, मिना ढकाल, हरि ढकाल, खेमराज ढकाल, रामबहादुर राई, प्रल्हाद ढुङ्गाना, उदयबहादुर कार्की, इश्वरचन्द्र ढकाल, महाप्रसाद खनाल, पुण्यप्रसाद खनाल, फडिन्द्र खनाल र सारदाप्रसाद ढकाल गरी १९ जनाको नाममा घर बनाइएको थियो । यसमध्ये हेमसागर ढकाल सुन्दर हरैचाको गछिया र खेमराज ढकाल उदयपुरको गाइघाट बसाइँ सरिसकेको स्थानीय सारदाप्रसाद ढकालले बताए । हरि ढकाल भने भूकम्प पीडितका लागि बनाइएको निजी आवासमा बस्छन् । सारदाप्रसाद ढकालले निजी आवासको रूपमा बनाइएको घरलाई मतानको रूपमा प्रयोग गर्दै आएका छन् ।


उक्त एकीकृत वस्तीका लागि आवश्यक जग्गा सारदाप्रसाद र उनकी श्रीमती कृष्णकुमारी ढकालले निःशुल्क उपलब्ध गराएका हुन् । अहिलेसम्म १८ मध्ये चार जनाले पास गर्न नआएको सारदा बताउँछन् । उनका अनुसार प्रल्हाद ढुङ्गाना, उदयबहादुर कार्की, इश्वरचन्द्र ढकाल र हेमसागर ढकालले पास लिएका छैनन् । पासका लागि बोलाए पनि नआएकाले रहेको उनको भनाई छ । हजुरबुवा रामनाथको नामबाट ‘रामनाथ एकीकृत वस्ती’को नामाङ्कन गर्ने गरी जग्गा दान गरेको सारदा बताउँछन् । तर वस्तीमा सम्वन्धित भूकम्प पीडित नबसेपछि आफूलाई खल्लो लागेको उनी सुनाउँछन् । प्रमेश सारदाकै छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित