खोटाङमा दुई हजार ९५६ जनाले एसइइ दिदै

  • प्रकाशित मितिः चैत्र १४, २०८०
  • 79 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १४–चैत १५ गतेदेखि हुने एसइइ परीक्षामा खोटाङमा दुई हजार नौ सय ५६जना विद्यार्थी सहभागी हने भएका छन् । २४ केन्द्र निर्धारण गरेर परीक्षाको व्यवस्था मिलाइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका निमित्त इकाइ प्रमुख नन्दबहादुर विश्वकर्माका अनुसार सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको छ । एसइइको पहिलो दिन बिहीबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुँदै छ । परीक्षा बिहान ७ ः ०० बजेबाट शुरु हुने छ ।
परीक्षालाई मर्यादित र व्यवस्थित गर्न सबै केन्द्राध्यक्ष र सुपरीवेक्षकलाई निर्देशन दिइएको जिल्ला परीक्षा सञ्चालन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । परीक्षामा अमर्यादित कार्य गर्नेलाई कानूनबमोजिम कारबाही गरिने कार्कीले बताए ।
ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेको सल्लेस्थित शान्तोदय माध्यमिक विद्यालयबाट चार जनाले मात्र एसइइ परीक्षा दिने भएका छन् । उक्त विद्यालयमा विद्यार्थी संख्या नै कम छ । कक्षा १ देखि १० सम्म ६२ जना मात्र विद्यार्थी छन् । उक्त विद्यालयबाट अर्को वर्ष एसइइ दिने परीक्षार्थी पाँच जना मात्र हुने प्रअ दीपबहादुर राईले बताए । ‘अर्को वर्ष पनि एसइइ दिने विद्यार्थी पाँच जना मात्र हुने छन् ।’ उनले भने–‘अहिलेको कक्षा ९ मा पाँच जना मात्र विद्यार्थी छन् ।’
अत्यधिक बसाइँसराइँ र जन्मान्तर कम लगायतका कारण विद्यार्थी संख्या घटेको राईको भनाई छ । अघिल्लो वर्ष १४ जना विद्यार्थी एसइइमा सहभागी थिए । उक्त विद्यालयको परीक्षा केन्द्र देउराली माविमा निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित