माटिकोरे रङ्गशाला : म्याद सकिनै लाग्दा निर्माण सुरु

  • प्रकाशित मितिः चैत्र ८, २०८०
  • 459 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको माटिकोरेस्थित अलपत्र परेको फुटबल स्टेडियम निर्माण म्याद सकिनै लाग्दा बल्ल सुरु भएको छ । २०८१ बैशाख २८ गतेसम्ममा सक्ने गरी ठेक्का लिएको निर्माण कम्पनीले बल्ल काम सुरु भएको हो ।
उक्त कामको ठेक्का आशिर्वाद-मोहन एण्ड गाउँबेसी-इन्द्रलक्ष्मी कन्ट्रक्सनले लिएको हो । २०८१ बैशाख २८ गतेसम्म सक्ने गरी २०७९ बैशाख २९ गते संझौता गरेको थियो । नगरपालिकाको दुई करोड ९६ लाख ४१ हजार चार सय ९५ रूपैयाँको लागतमा सम्पन्न गर्ने गरी ठेक्का लिए पनि काम भने अलपत्र थियो । पटक–पटकको ताकेतापछि काम सुरु भए पनि यसको गति भने मन्द भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले बताए ।
एक वर्षअघि नै काम थालिए पनि प्रगति भने न्युन रहेको भट्टराईको भनाई छ । उक्त निर्माण कम्पनीले मोबिलाइजेसन पेश्की वापत २९ लाख ६४ हजार लिएर काम थालेको थियो । संझौता भएको एक वर्ष बितिसक्दा पनि कामको मेसो नदेखिएको भन्दै खेलाडीहरुले गुनासो गर्दै आएका छन् ।
नगरपालिकाका इन्जिनियर रामहृदय पटेलका अनुसार एक वर्षमा अहिलेसम्मको प्रगति दश प्रतिशत मात्र छ । ‘कामै नगरेकाले थोरै मात्र प्रगति देखिएको हो ।’ उनले भने–‘केही स्टीमेट पनि चेन्ज भएकाले समस्या भएको हो ।’
उनका अनुसार भिआइपी र पब्लिक गरी दुई वटा प्याराफिट निर्माण लगायतका काम गर्नु पर्ने छ । यसमध्ये पब्लिक प्याराफिट लामो बनाइने पटेलले बताए । निर्माणमा संलग्न जोसफ रिजालले भने लेभेन साइजको फुटबल मैदान बनाउँन ठाउँले नपुग्ने र त्यसका लागि निर्माण स्थलमा भएको भवन भत्काउँदा समय लागेको बताए । डिपिआर पनि परिवर्तन गर्नु पर्ने भएकाले समय लागेको बताए । ‘लेभेन साइजको फुटबल ग्राउण्ड बनाउँन ठाउँ पुग्दैन थियो, त्यसका लागि त्यहाँ भएको पुरानो भवन भत्काउँनु प¥यो ।’ उनले भने–‘यसका साथै पिपिआर पनि चेन्ज गर्नु पर्ने भएकाले समय लाग्यो, अब चाहिँ काम धमाधम हुन्छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित