‘गोर्खा वरियर’को च्यारिटी शो जारी

  • प्रकाशित मितिः फाल्गुन २९, २०८०
  • 580 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन २९–ब्रिटिस गोर्खा सैनिकले लडाइमा भोगेका सत्य कथामा आधारित नेपाली कथानक चलचित्र ‘गोर्खा वरियर’को विशेष च्यारिटी शो जिल्ला समन्वय समितिको हलमा फागुन २८ गतेदेखि भइरहेको छ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा जन्मिएका रितेश चाम्सको मुख्य भूमिकामा निर्माण गरिएको उक्त चलचित्र चैत १ गतेसम्म प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
रितेश वेलायती सेनामा रहदा विमान चालक क्याप्टेन समेत हुन् । उनकै मुख्य भूमिका रहेको चलचित्रको च्यारिटी शोको पहिलो दिनदेखि नै हल खचाखच भरिएको च्यारिटी शोका व्यवस्थापक डार्विन चाम्लिङले बताए । उक्त च्यारिटी शो हरेक दिन बिहान ११, अपरान्ह २ र बेलुका ५ बजे गरी तीन शो प्रदर्शन हुने चाम्लिङले बताए ।
खोटाङकै निर्माता र खोटाङकै नायक रहेको उक्त चलचित्रको पहिलो शोमा जिल्लास्थित उच्चपदस्थ व्यक्तित्व सहभागी थिए । संविधानसभा सदस्य दुर्गा जयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा अध्यक्षहरू, वडाअध्यक्ष तथा अन्य जनप्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि लगायतले चलचित्र हेरेका थिए ।
चलचित्र गोर्खा वारियरमा पुर्खाहरुले भोगेका वास्तविक घटनालाई चित्रण गरेको पाइएको संविधानसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र पोलिटब्युरो सदस्य राईले बताइन् । उक्त चलचित्र पुर्खाका इतिहास बुझ्न भावी पुस्ताका लागि सजिलो भएको दर्शकहरूले बताएका छन् । उक्त चलचित्रमा पुर्खाहरुको वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखिएर निर्माण गरिएको छ । उक्त चलचित्रको निर्देशन मिलन चाम्स, निर्माता सुमन राई, नायक रितेश, नायिका रेविका गुरुङ, विजय लामा, कविता आले, रिअर राई, सुरज तमु, भुवनसिं राई, त्रिछु राई, दिग्गज खत्री लगायतले अभिनय गरेका छन् ।
उक्त चलचित्र गोर्खा वारियर ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (वाफ्टा) मा पहिलो चरणमा छनौट भएको हो । उक्त चलचित्र लण्डनको आइम्याक्स् सिनेमा घरमा प्रिमियर शो गरिएको थियो । उक्त चलचित्र फागुन ११ गतेदेखि देशभर प्रदर्शन भइरहेको छ । उक्त चलचित्र हङ्कङ, अमेरिका, दक्षिण कोरिया लगायतका ठाउ“हरुमा पनि विशेष प्रिमियर शो गर्ने तयारी गरिएको राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित