दिक्तेल बहसमुखी क्याम्पसले क्युएए पाएपछि खुसियाली मनायो

  • प्रकाशित मितिः फाल्गुन २२, २०८०
  • 93 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन २२–दिक्तेल बहसमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चतता तथा प्रत्यायन (क्युएए) पाएको छ । यस अवसरमा फागुन २२ गते क्याम्पसले खुसियाली मनाएको छ ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष दुर्गाजयन्ती राईको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसलाई क्युएए प्राप्त गर्नमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सरोकारवालाहरुलाई धन्यवाद दिएको हो । कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरू, जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाह, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, अभिभावक, भूपू विद्यार्थीहरुको उपस्थितिमा खुसियाली मनाएको हो ।
करिब ८ वर्षको प्रयत्नपछि विश्वविद्यालय अनुदान आयोगको बोर्डले २०८० पुष १९ गते क्याम्पसलाई क्युएए दिने निणर्य गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष राईले बताइन् । बोर्डले माघ १२ गते काठमाण्डौंमा भएको विशेष समारोहमा बोलाएर क्याम्पसलाई क्युएएको प्रमाणपत्र प्रदान गरेको दिक्तेल बहुमुखी क्याम्पसका प्रमुख हिराकुमार राईले बताए । ‘क्युएए प्राप्ति आफैंमा शैक्षिक संस्थाहरुका लागि एउटा गौरवको विषय हो ।’–क्याम्पस प्रमुख राईले भने–‘क्युएए पाएपछि प्रतिस्पर्धात्मक युगमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा दिक्तेल बहुमुखी क्याम्पस सक्षम छ भन्ने प्रमाणिकरण गरेको छ ।’
क्युएए प्राप्तिपछि अब विश्वबिद्यालयबाट सञ्चालन हुने विभिन्न कार्यक्रममा क्याम्पसलाई सहभागिताको अवसर मिल्ने, क्याम्पसको भौतिक संरचनाको थप विकास हुने र विद्यार्थीले प्राप्त गनुपर्ने सेवासुविधाहरु विस्तार भएर जाने राईले बताए । क्युएए पा“च वर्षका लागि मान्यता पाएको राईले सुनाए ।
२०३७ सालमा स्थापना भएको जिल्लाकै पुरानो यो क्याम्पसमा स्थायी ११ जना, अस्थायी दुई जना, करार सात जना, आंशिक सेवामा छ जना गरी २६ जना शिक्षक छन् । यसबाहेक स्थायी चार र अस्थायी चार कर्मचारी कार्यरत छन् । स्नातकोत्तरतहसम्म अध्ययन हुने यस क्याम्पसमा खोटाङसहित छिमेकी जिल्ला भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु उदयपुर लगायतका विद्यार्थी अध्ययनरत रहेको राईले जनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित