दिक्तेलको चित्र बबरमहलमा प्रदर्शन

  • प्रकाशित मितिः फाल्गुन ६, २०८०
  • 141 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’ काठमाडौंमा सुरु भएको छ । स्वदेशी तथा विदेशी चित्रकारलाई सहभागी गराएर गत असोज–१७ गतेदेखि २१ गतेसम्म दिक्तेलमा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी–२०८०’मा कोरिएका २०१ वटा क्यानभास चित्रलाई फागुन ५ गतेदेखि काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषदमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरी सुरु गरेको हो ।
राष्ट्रपति पौडेलले क्यानभासमा चित्र कोर्नुका साथै पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्य राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । प्रदर्शनमा राखिएका चित्रलाई दिक्तेलमा सङ्ग्रहालय बनाएर राखिने भट्टराईले सुनाए ।
प्रदर्शनीमा असोज १७ देखि २१ गतेसम्म दिक्तेलको मझुवागढी, भवनगैरा, हाटडाँडा, शंखधर शाख्वाचोक र शुभम् फाउण्डेसन लगायतका विभिन्न ठाउँहरूमा कोरिएको चित्र राखिएको छ । दिक्तेलमा भएको चित्रकला कार्यशाला तथा प्रदर्शनीमा नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकार सहित विभिन्न ५० देशका ख्याति कमाएका चित्रकारहरूले चित्र कोरेका थिए । त्यही चित्र काठमाडौंमा प्रदर्शनीमा राखिएको हो ।
प्रदर्शनी कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती लगायतको उपस्थिति थियो । प्रदर्शनीमा मन्त्री किरातीले अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमले नगरपालिकालाई मात्र नभइ सिङ्गो खोटाङलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराएको बताएका छन् । प्रतिनिधिसभा सदस्य रामकुमार राईले स्वदेश तथा विदेशबाट आएका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रमा समग्र खोटाङको तस्विर झल्किएको बताए । ‘प्रदर्शनीमा राखिएका चित्रले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउँदै यहाँको सँस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने छ ।’–उनले भने ।
चित्रकला आगामी फागुन १७ गतेसम्म प्रदर्शनीमा राखिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले बताए । त्यस दिन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदर्शनी समापन गर्ने उपप्रमुख राईले सुनाए । प्रदर्शनीमा जिल्लास्थित दशवटै स्थानीय तहका धार्मिक, साँस्कृतिक तथा पर्यटकीयस्थलका तस्बिरहरु पनि राखिएका छन् । उक्त कार्यक्रमको आयोजना दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोले गरेको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित