साहित्यकार टंक भट्टराईको उपन्यास ‘ठाँटीको घाम’ विमोचन

  • प्रकाशित मितिः पुष २८, २०८०
  • 183 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २८–साहित्यकार टंक भट्टराईको ‘ठाँटीको घाम’ उपन्यास विमोचन भएको छ । दिक्तेलको शुभदिन होटलमा पुस २८ गते आयोजित विमोचन कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले विमोचन गरेका हुन् ।
रत्न पुस्तक भण्डार काठमाडौंले प्रकाशन गरेको यो उपन्यास भट्टराईको तेश्रो कृति हो । कवितामा रमाउँने उनी यो चोटी भने उपन्यासमा जमेका छन् । आफ्नै गाउँको परिवेशमा कथा बुनिएको यो उपन्यास २५४ पेजमा समेटिएको छ । यसअघि ‘साँझमा पहिलो तारा’ कविता संग्रह २०६८(आफैं प्रकाशित), ‘म पनि बग्दै छु साप्सु’ कथा संग्रह २०७३ (साझा प्रकाशनद्वारा प्रकाशित) गरेको थियो ।
गाउँले परिवेशलाई सर्लक्क उपन्यासमा उतारेर ओजनदार कृति जन्माएको प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले बताए । कामको सिलसिलामा बाहिरै बसे पनि गृह जिल्लामै आएर कृति विमोचन गर्नु झनै राम्रो भएको डा. सुवेदीले बताए । भट्टराई लगायतका थुप्रै वाङ्मय क्षेत्रमा ख्याती कमाएका सर्जकहरु खोटाङले जन्माएकाले जिल्लाप्रति पनि उत्तिकै जिम्मेवार हुनु पर्ने डा. सुवेदीले धारणा राखे । साहित्यकार विष्णु आभूषण, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, अग्रज पत्रकार कृष्ण आचार्य, टंक थापा, प्रकाश श्रेष्ठ लगायतले धारणा राखेका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा जन्मिएका भट्टराई जागिरको सिलसिलामा ताप्लेजुङको सहायक प्रमुुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित