बालाचतुर्दशीको अवसरमा हलेसी लगायतका खोटाङका तीर्थस्थलहरुमा भिड

  • प्रकाशित मितिः मंसिर २५, २०८०
  • 204 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २५–बालाचतुर्दशीको अवसरमा हलेसी लगायतका जिल्लाका विभिन्न धार्मिक स्थलहरुमा मेला लागेको छ । हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढीस्थित बुद्धेश्वर गुफा, कालिका भगवती, खोटेहाङ गाउँपालिकाको सोलढुङ्गा, बराहापोखरी गाउँपालिकाको बराहापोखरी र रावाबेसी गाउँपालिकाको जुडीमा मेला लागेको हो ।


हलेसीमा मङ्सिर २४ गते बेलुकीदेखि नै तीर्थालुको भिड लागेको छ । मङ्सिर २५ गते बिहान साडे सात बजे नै शिवलिङ्गमा गहना पहिराइएको हलेसी विकास समितिका निर्देशक सम्मरबहादुर भुजेलले बताए । तीर्थालुहरु लाइन लागेर पूजाआजामा व्यस्त छन् । भुजेलका अनुसार काठमाडौं, मोरङ, सुनसरी, झापा, सप्तरी, सिरहा लगायत नेपालका विभिन्न ठाउँका तीर्थालु हलेसी आएका छन् । यसबाहेक भारतको सिक्किम, डार्जिलिङ तथा अन्य शहरहरु तथा भुटानका तीर्थालु समेत आएको भुजेलले बताए ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढीस्थित बुद्धेश्वर गुफा र कालिका भगवतीको दर्शनका लागि पनि तीर्थालु मङ्सिर २५ गते बिहानैदेखि भिड लागेका छन् । यहाँ पूजा आराधना गरे चिताएको विश्वासमा तीर्थालु आउने गरेका छन् ।


खोटेहाङ गाउँपालिका–४ बडकादियालेस्थित सोलढुङ्गामा तीर्थालुको भिड लागेको छ । उक्त धार्मिकस्थलमा मङ्सिर २४ गते बेलुकीदेखि नै तीर्थालु आएको स्थानीय अज्ञान राईले बताए ।

बराहापोखरी गाउँपालिकाको बराहापोखरी, रावाबेसी गाउँपालिका–६ हौचुरको जुडीमा पनि तीर्थालुको भिड लागेको छ । बालाचतुर्दशीको अवसरमा जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ र रावाबेसी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । स्थानीय तह मातहतका कार्यालयहरु, सामुदायिक विद्यालय, स्वास्थ्य संस्थाहरु बन्द छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित