‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प अभियान’ सफल पार्न जुट्यो एमाले खोटाङ

  • प्रकाशित मितिः मंसिर २१, २०८०
  • 210 पटक पढिएको
  • संवादताता

सविना अछामे–

खोटाङ, मङ्सिर २१–नेकपा एमाले खोटाङले ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प अभियान’ सफल बनाउँन जुटेको जनाएको छ । मङ्सिर २१ गते दिक्तेलको शुभदिन होटलमा पत्रकार सम्मेलन गरी अभियानका लागि तयारी सुरु गरेको जनाएको हो ।

अभियानलाई अर्थपूर्ण बनाउँन जिल्लास्थित विभिन्न नेता कार्यकर्ताहरुलाई जिम्मेवारी दिइएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए । उनका अनुसार रमेश पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, रामप्रसाद दंगालको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन, अन्यपार्टीसंग समन्वय र पार्टी प्रवेशको तयारी समिति, उषाकला राईको संयोजकत्वमा जनपरिचालन समिति, देवविक्रम राईको संयोजकत्वमा आन्तरिक सुरक्षा तथा स्वयम्सेवक परिचालन समिति, तेजप्रसाद ढुङ्गानाको संयोजकत्वमा खाना तथा आवास व्यवस्थापन समिति बनाइएको छ ।

त्यसै गरी खडेन्द्र राईको संयोजकत्वमा हलेसीमा खाजा व्यवस्थापन समिति, लिला चौहानको संयोजकत्वमा बुवालुङमा खाजा व्यवस्थापन समिति, रामप्रसाद दंगालकै संयोजकत्वमा स्थानीय कमिटीको बैठक भेला आयोजक समिति, कुमार आचार्यको संयोजकत्वमा प्रशासनिक निकायसंग वार्ता समन्वय समिति, गोपालचन्द्र आचार्यको संयोजकत्वमा प्रचार, गेट, ब्यानर, तुल व्यवस्थापन समिति बनाइएको दंगालको भनाई छ । त्यस्तै विणादेवी राईको संयोजकत्वमा अतिथि सत्कार सांस्कृतिक झाँकी व्यवस्थापन समिति, विशाल भट्टराईको संयोजकत्वमा अनुगमन समिति र गोपीकृष्ण खड्काको संयोजकत्वमा विदाइ व्यवस्थापन समिति बनाएर जिम्मेवारी दिइएको दंगालले जनाए ।

एमाले अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यमा मङ्सिर २६ गते विहान ११ बजे हर्कपुरमा जनसभा सुरु गर्ने, त्यसै दिन दिउसो तीन बजे हर्कपुर–हलेसी यात्रा, हलेसी दर्शन, अवलोकन र हलेसीको समग्र विकासका लागि सुझाव संकलन गर्ने साथै त्यसै दिन बेलुकी पाँच बजे हलेसी–दिक्तेल यात्रा कार्यक्रम तय भएको दंगालले बताए । मङ्सिर २७ गते विहान सात बजे बुद्धिजीवि, पत्रकार, उद्यमी, व्यवसायीसंग सुझाव संकलन गर्ने, विहान आठ बजे प्राविधिकधारको व्यवहारिक शिक्षाका लागि शुभद्रा मदन फाउण्डेशनले गरेको प्रयासको अवलोकन गर्ने, त्यसै दिन विहान १० बजे बुवालुङमा जनतासंग भेटघाट, विकास अवलोकन र खाजा खाने, विहान ११ बजे पेलुङमा जनतासंग भेघाट कार्यक्रम तय गरिएको दंगालले सुनाए । त्यसपछि मध्यन्ह १२ बजे चखेवामा साकेला गाउँ कमिटीको व्यवस्थापनमा संकल्प अभियानका यात्रीहरुलाई सुन्तलाको माला लगाई बिदा गर्ने कार्यक्रम बनाइएको दंगालले बताए ।

बैतडीको झुलाघाटबाट एमाले अध्यक्ष ओलीले मङ्सिर १४ गते सुरु गरेको अभियान पाँचथरको चिवाभन्ज्याङमा पुगेर सम्पन्न हुने छ । यो दौरानमा २० लाख जनतासंग प्रत्यक्ष भेटघाट, विभिन्न स्थानमा जनसभा, स्थानीय तहका जनप्रतिनिधिहरुसंग सुझाव संकलन, सबै राजनीतिक दलसंग अन्तरक्रिया तथा सुझाव संकलन, कलेज, विद्यालयका विद्यार्थी र शिक्षकसंग छलफल, किसानसंग अन्तरक्रिया, कृषि वैज्ञानिकहरुसंग अन्तरसंवाद, विकास आयोजना अवलोकन, विकासका अन्य सम्भावनाहरुको खोजी, नमुना काम गरिरहेका उद्यमीसंग भेटघाट र सुझाव संकलन, ऐतिहासिक र धार्मिक स्थलहरुको अवलोकन, जनताका अनुभूति, गुनासा, सुझावहरु संकलन, लोकमार्ग निर्माणले पारेको प्रभाव र ल्याएको परिवर्तनलाई नजिकबाट नियाल्ने दंगालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य, एमाले खोटाङ इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र राई, केन्द्रीय सदस्य उषाकला राई, केन्द्रीय सदस्य रमेश पौडेल, प्रदेश कमिटी उपसचिव देवान राई, अनेमसंघ सचिव विणादेवी राई, दूधराज तामाङ, कविता राई, खडेन्द्र राई लगायतका नेताहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित