किसानको साथी

  • प्रकाशित मितिः माघ १४, २०७५
  • 2355 पटक पढिएको
  • संवादताता

ध्रुब श्रेष्ठ-

नेपालको कानुनले कुनै पनि पंक्षीलाई नियन्त्रणमा राख्न, गड“ु भत्काउन, अण्डा फुटाउन, र मार्न बर्जित गरेको छ । उक्त कार्य गरे बापत् दश हजारसम्म जरिवाना र दुई वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ ।

अलि सोझो स्वभाव भएको मानिसलाई हेला होचो गर्ने शैलीमा अधिकतम् उच्चारण गरिने शब्द हो ‘लाटोकोसेरो तथा उल्लु’ । अझ माझ किराँतमा बस्ने राईहरुले त आफ्नो भाषामा यसको नाम नै ‘पोप्पो’ नै राखिदिएका छन् । घरगाँउको भान्सा तथा दूध दहिको ठेकीमा बिरालोले कुनै बिगार गर्दा अक्सर मान्छेको मुखबाट गालीको शब्द स्वरुप निस्कन्छ ‘हुचिलको आहारा’ । अझै पनि गाँउघरको धुरीमा बसि हुचिल करायो भने अशुभ या अनिष्ट हुन्छ भन्ने मान्यता कायमै छ । तर रातको समयमा घरको धुरीमा बसेर कराउने त्यही हुचिलको आवाज नसुनेको धरै समय भै सक्यो । यसबारे गाउँघरका बृद्धाबृद्धाहरु अनभिज्ञ नभए पनि उमेरले करिव दश पन्ध्र बर्ष काटेका केटाकेटीहरु यसबारे बिरलै जानकार छन् । उनीहरुले केवल कुनै नक्सा वा भिडियोमा मात्र यसको आकृति वा स्वरुप देखेका होलान् । 
अंग्रेजीमा अउल (Owl) भनेर बुझिने यसलाई नेपालमा लाटोकोसेरो तथा हुचिल भनेर बुझिन्छ । विभिन्न अध्ययनहरुका अनुसार विश्वभरि पाइने करिव ८७१ प्रजातीका चराहरु मध्ये २२५ प्रजाती लाटोकोसेरो तथा हुचिल छन् । नेपालमा करिव २३ प्रजातीका लाटोकोसेरो तथा हुचिल रहेको अनुमान गरिए पनि यसको एकीन तथ्यांक छैन । विश्वमा करिव ३१ ग्राम अथवा १३.५ सेन्टीमिटर लम्बाईदेखि ४.२ किलोग्राम अथवा ७१ सेन्टीमिटरसम्म ठूलो तौल एवं आकारका लाटोकोशेरो पाइन्छ । नेपालमा लाटोकोसेरो तथा हुचिल तराईदेखि ५३० मिटरसम्मको अग्लो पहाडसम्म पाइन्छ । रुखको टोड्का, पहरा, छोडिएका घरहरु, घाँसे मैदान, पुराना घरहरु तथा गुफा आदि यस प्रजातीका वासस्थान हुन् । उसको प्वाँख अन्यन्त हल्का भएकोले यो पंक्षी उडेको आवाज हत्तपत्त सुन्न सकिदैन । लाटोकोसेरो तथा हुचिलको अनुहारमा आवाज केन्द्रित गर्ने फेसियल डिक्स भएकोले यसको अत्यन्त तिक्ष्ण सुन्ने शक्ति हुन्छ भने यसको आँखामा टाढा सम्म देख्ने (Binocular) शक्ति भएकोले लाटोकोसेरो तथा हुचिलले आफू भन्दा धेरै कम दूरीमा रहेको वस्तु भने प्रष्ट रुपमा देख्न सक्दैन । यसले आफ्नो घाँटीमा भएको १४ वटा हड्डी (जुन मानिसमा केवल ७ वटा हुन्छ) को साहयताले करिव २७० डिग्रीको कोणसम्म आफ्नो टाउको र घाँटी घुमाउने गर्दछ ।
पर्यावरणीय सन्तुलनमा अन्य पंक्षी जस्तै लाटोकोशेरो तथा हुचिलको महत्वबारे भने थारै मानिस जानकार छन् । रातमा सक्रिय हुने (Nocturnal) तथा मांसाहारी यस पंक्षीले मानिसको लागि कुनै हानी नोक्सानी गर्दैन बरु यसले किसानलाई प्रत्यक्ष फाइदा पु¥याएको छ । साना स्तनधारी तथा किराहरु जस्तै भ्यागुता, मुसा, खरायो, सर्प, फट्याँग्रा, छेपारो, बिरालो, फट्यांग्रा, माछा आदी जीवजन्तु आहाराको रुपमा यसले खाने गर्दछ । लाटोकोशेरो तथा हुचिल सम्बन्धि अध्येताहरुका अनुसार भन्छन् एक जोडी लाटोकोशेरो तथा हुचिलले एकपटक आफ्नो बच्चा कोरलेर बयस्क बनाउदाको अवधि (करिव ४ देखि ६ महिना) मा सरदर ३ हजार ओटा मुसा मार्ने गर्दछ । यसले उल्लेख्य रुपमा मुसा नियन्त्रण गर्दै पाक्न लागेको किसानको बाली नास गर्नबाट जोगाइदिन्छ र बालीनाली नाश गर्ने अन्य जीवजन्तुलाई समेत नियन्त्रण गर्दछ । उनीहरुका अनुसार खेतबारीमा असंख्य मात्रामा मुसाको संख्या बढ्नु नै लाटोकोसेरो तथा हुचिल लोप हुदै गएको प्रष्ट सूचक हो । 
नेपालको कानुनले कुनै पनि पंक्षीलाई नियन्त्रणमा राख्न, गुड भत्काउन, अण्डा फुटाउन, र मार्न बर्जित गरेको छ । उक्त कार्य गरे बापत् दश हजारसम्म जरिवाना र २ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेको छ । लाटोकोसेरो तथा हुचिल संरक्षण सम्बन्धि ज्ञानको अभाव, असंख्य रसायनिक पदार्थको प्रयोग, उपयुक्त वासस्थानको अभाव तथा विभिन्न सौखिन प्रयोजनका लागि भन्दै गरिने अवैध चोरी निकासीका कारण यसको संख्यामा उल्लेख्य कमी आएको सत्य हो । हाल नेपालमा करिव ८ वटा प्रजातीका हुचिल दुर्लभ छन् । पंक्षी विज्ञहरुका अनुसार विश्वभरिबाट अत्यन्त ठूलो संख्यामा विभिन्न प्रजातीका लाटोकोशेरो तथा हुचिल लगायतका पंक्षीहरु औषधी प्रयोजनका लागि चीन तथा तान्त्रिक विद्याका लागि भारत तिर चोरी निकासी भैरहेको छ । नेपालमा पनि अवैध चोरी निकासीका अलावा महिलाहरुमा हुने थुनेलोसम्बन्धी समस्या तथा दमका रोगीहरुको उपचार तथा यौन शक्ति बढाउने बहाना, यसको प्वाँख मात्र राखे पनि घरपरिवारको रक्षा हुने विश्वास र युवाहरुले मासुको लागि लाटोकोरेरो तथा हुचिल मार्ने गरेको पाइन्छ । 
नेपालको पर्यटन प्रवद्र्धनमा समेत पंक्षीजन्य प्राणीहरुको महत्वपूर्ण भूमिका रहन्छ । पंक्षी अवलोकनका लागि वर्षेनी नेपाल आउने पर्यटकहरुको तथ्यांक करिव ५ प्रतिशत रहेको छ । पंक्षी संरक्षण विज्ञहरुका अनुसार पंक्षी अवलोकनमा आउने पर्यटकहरु तुलनात्मक रुपमा लामो समय बस्ने गर्दछन् । उनीहरु आफूले हेर्न वा देख्न चाहेको पंक्षी नदेखे सम्म हत्तपत्त फर्केर जादैदन् । तसर्थ लोप हुदै गएको लाटोकोशेरो तथा हुचिल संरक्षणका बहुआयामिक फाइदा छन् । नेपाल सरकारले यसको संरक्षणको लागि प्रत्यक्ष र पर्याप्त रुपमा ध्यान दिइ काम गरेको देखिदैन । दक्षिण अफ्रिका लगायतका अफ्रिकी मुलुकहरुमा राज्यले किसानहरुसँग सहकार्य गरि बालीनाली र जैविक विविधता संरक्षणका लागि अनुदानको रुपमा किसानहरुलाई लाटोकोसेरो तथा हुचिलको गुँड वितरण गरेका समाचारहरुबाट केही कुरा अवश्य सिक्न सकिन्छ । आगामी माघ १८ र १९ मा खोटाङको जालपामा हुन गइरहेको नेपाल लाटोकोरेरो तथा हुचिल उत्सव प्रकृति तथा जैविक बिबिधता संरक्षणको क्षेत्रमा चासो राख्नेहरुको लागि एउटा महत्वपूर्ण अवसर हुन सक्दछ ।

(लेखक सामाजिक अभियान्ता हुन् ।)

प्रकाशित मिति २०७५माघ १४

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित