लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन प्रकरण : ३५ जना विरुद्ध अभियोग पत्र दर्ता, पक्राउ परेकाहरुको बयान सुरु

  • प्रकाशित मितिः मंसिर १५, २०८०
  • 377 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर १५–दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत ठगीसम्वन्धी कसुरमा ३५ प्रतिवादी विरुद्घ जिल्लाको अदालतमा अभियोग–पत्र दर्ता भएको छ । सहकारीका २६५ बचतकर्ताको उजुरीको आधारमा सहकारीका तत्कालीन अध्यक्ष तथा उनका परिवार, सहकारीका प्रवन्धक, लेखापाल र ऋणी सहित ३५ जना विरुद्घ जिल्ला अदालतमा मङ्सिर १३ गते अभियोग–पत्र दायर भएको हो ।
३५ प्रतिवादीबाट चार करोड ४० लाख ६१ हजार १८ रुपैयाँ बिगो माग दावी गरी अभियोग–पत्र दर्ता भएको हो । यो प्रकरणमा विभिन्न समयमा पक्राउ परेकाहरुलाई भने बयान लिन सुरु गरिएको जिल्ला अदालत खोटाङका श्रेस्तेदार सीताराम खड्काले बताए ।
बचतकर्ताले २०७९ फागुन २ गते सहकारीका अध्यक्ष जोशीको परिवार पाँच सदस्य सहित आठ जना बिरुद्घ जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । तत्कालनी सहकारीका अध्यक्ष अनिल जोशीका भाइ सुनिल जोशी र सुनिलकी श्रीमती रविना श्रेष्ठलाई २०८० असोज १३ गते तथा तत्कालीन प्रबन्धक रुकु जोशीलाई असोज १७ गते काठमाडौंबाट र पोखरीकी जसुदा पौडेललाई कात्तिक १५ गते चितवनबाट पक्राउ गरिएको थियो ।
त्यस्तै सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाई, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई प्रहरीले कात्तिक १२ गते पक्राउ गरेका थिए । अन्य २६ जनालाई फरारको सूचीमा राखेर अदालतमा उजरी दर्ता भएको छ ।
सहकारीका तत्कालनी अध्यक्ष अनिल जोशीको २०७८ बैशाख १५गते पोखरामा निधन भएको थियो । सहकारीले २०७२ मङ्सिर १० गतेदेखि कारोबार सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित