‘म हिंसा गर्दिन, म हिंसा सहन्न, म हिंसाको प्रतिकार गर्छु’

  • प्रकाशित मितिः मंसिर १२, २०८०
  • 144 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर १२–एक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले स्थानीय तहको चुनावमा गठबन्धनले गर्दा महिला जनप्रतिनिधिहरु निर्वाचित हुन बन्चित रहेको बताएका छन् । दिक्तेलको थ्री ब्रदर्शमा मङ्सिर १२ गते आयोजित स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको चुनौति अन्तर र अवसर आदान–प्रदान गोष्ठीमा त्यसो भनेका हुन् ।
‘लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान, लैंगिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ शी–लिड्सले आयोजना गरेको कार्यक्रमका सहभागीहरुमध्ये दिक्तेल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्णबहादुर राईले गठबन्धनमा पुरुषलाई मात्र अवसर दिएको र त्यसले महिलाहरु निर्वाचित हुने अवसर गुमेको बताएका हुन् । खोटेहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले संविधानले परिकल्पना गरेको महिला, पुरुष, दलित, पिछडिएको वर्गलाई समान हैसियत र अवसर प्रदान गरेको बताए । महिलाहरुको अधिकारका लागि अझै डटेर लाग्नु पर्ने उनको धारणा थियो । शी–लिड्सले महिलाहरुको अधिकार र क्षमता विकासका लागि उल्लेख्य भूमिका निर्वाह गरेको समेत बताए । महिलाहरु आफैं बजेट विनियोजन गर्ने ठाउँमा पुगेकाले क्षमता विकास र अधिकारका लागि बजेट छुट्ट्याउँनु पर्ने धारणा राखे । खोटेहाङ गाउँपालिका उपाध्यक्ष रुपेश राईले महिलाहरुको अधिकार सुनिश्चितका लागि आफू, आफ्नो पार्टी र खोटेहाङ गाउँपालिका प्रतिबद्ध रहेको बताए । दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी उपाध्यक्ष अरुणा मगरले शी–लिड्सको कार्यक्रमप्रति प्रसंशा गरिन् ।
कांग्रेसकी डिल्लीकुमार आचार्यले पार्टीले आफूहरुलाई क्षमता अभिबृद्धिको कुनै तालिम नदिएको बताए । क्षमता विकास गर्न शी–लिड्सले तालिम दिएकोप्रति आभार व्यक्त गरिन् । १६ दिने अभियान स्थानीय तहहरुको दायित्वभित्र परे पनि यसप्रति चासो नदिएको गुनासो गरिन् ।
नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दङ्गालले समय सापेक्षित महिलाहरु निर्वाचित हुन थालेको बताए । २०५४ सालमा प्रत्येक गाविसमा एक महिला निर्वाचित हुने व्यवस्था भएको र गणतन्त्रपछि महिलाहरुले निर्वाचित हुने अवसर पाएको बताए । महिलाहरुको अधिकार र क्षमता विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा माओवादी केन्द्र प्रदेश समिति सदस्य विनोद आचार्यले महिला जनप्रतिनिधिहरुका लागि शी–लिड्सले गाइड लाइन दिएता पनि आफैं पनि डटेर लाग्नु पर्ने बताए । वर्तमान अवस्थामा छुवाछुत कायम रहेको र यो दण्डनीय भएकाले यसको अन्त्यका लागि सम्पूर्ण राजनीतिक दलहरुले पहल कदमी गर्नु पर्ने बताए । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष पीके खम्बुले महिलाले अवसर पाए राम्रो काम गर्न सक्ने बताए । यसका लागि आफ्नो पार्टीले सहज भूमिका खेल्ने बताए । राप्रपाकी टिका खत्री, रावाबेसी गाउँपालिका दुबेकोलका वडाअध्यक्ष मनकुमार गुरुङ, बालसेवा समाज नेपाल नेर्पाकी अध्यक्ष चन्द्रकला भुजेल लगायतले धारणा राखेका थिए ।
कार्यक्रममा म हिंसा गर्दिन, म हिंसा सहन्न, म हिंसाको प्रतिकार गर्छु भन्ने प्रतिबद्धता सहित सेतो रिवन लगाएर भएको कार्यक्रममा संविधानसभा सदस्य दुर्गाजयन्ती राई, लक्ष्मीकुमार राई, पुष्पकला भुजेल लगायतको सहभागिता थियो । शी–लिड्सले जिल्लाको आठ स्थानीय तहमा कार्यक्रम गर्दै आएको छ । यो कार्यक्रमको अवधि सकिने चरणमा रहेकाले पुनः थप गर्नु पर्ने सहभागीहरुले धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित