आङ खसेका महिलाहरुको उपचार गर्दै दुई नगरपालिका

  • प्रकाशित मितिः मंसिर ११, २०८०
  • 317 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ११–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्ककी ८० वर्षीया महिलाले आङ खसेको पीडा खेपेकी १२ वर्ष भयो । यसको उपचार हुन्छ भन्ने थाहा नभएपछि उनले पीडा लुकाएर बसेकी थिइन् । तर नगरपालिकाले सञ्चालन गरेको आङ खस्ने महिलाको स्क्रिनिङको बेला उपचार हुन्छ भन्ने थाहा भएपछि उनी उपचारमा लागेकी हुन् ।
त्यस्तै नगरपालिकाकै वडा नं–६ नेर्पाकी ७४ वर्षीया महिलाले पनि यसको पीडा भोगेकी १२ वर्ष नै भयो । ६ जनाको जन्म दिएपछि आङ खसेको उनले आफ्नै परिवारलाई पनि भन्न लाज मानेपछि १२ वर्षसम्म उपचार हुन सकेको थिएन । उनलाई पनि नगरपालिकाले सञ्चालन गरेको स्क्रिनिङ शिविरमा काउन्सिलिङपछि उपचार गर्ने आँट आएको हो ।
उनीहरु लगायत ३६ जना आङ खसेका महिलाहरुको बनेपास्थित सिर मेमोरियल अस्प्तालमा उपचार सुरु भएको छ । उनीहरु सबैको शल्यक्रिया गर्नु पर्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेम आचार्यले बताए । यसको मेसो नगरपालिका र भक्तपुरस्थित सामुदायिक सेवा प्रतिष्ठानले मिलाएको हो । उनीहरुलाई लाग्ने औषधी, शल्यक्रिया, कुरुवासहित खाना तथा यातायातको जोहो नगरपालिका र सामुदायिक सेवा प्रतिष्ठानले गरेको हो । एक व्यक्ति बराबर करिब ७० हजार रुपैयाँ लाग्ने आचार्यको भनाई छ ।
गत आर्थिक वर्षबाट नगरपालिकाले सुरु गरेको स्क्रिनिङ शिविरमा ६२ जना महिलाको आङ खसेको फेला पारेको हो । यसमध्ये पहिलो चरणमा मङ्सिर २ गते १६ जना र मङ्सिर ५ गते २० जनालाई बस चढाएर बनेपा पु¥याइएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।
हलेसी तुवाचुङ नगरपालिकाले पनि २० आङ खसेका महिलाको उपचार गर्न बनेपास्थित सिर मेमोरियल अस्पताल पु¥याएको छ । उनीहरुलाई मङ्सिर ९ गते बनेपा पु¥याएर मङ्सिर १० गतेबाट उपचार सुरु भएको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकाश घिमिरेले बताए । गत वर्ष २८ मध्य २० जनाको शल्यक्रिया गरिएको नगरप्रमुख विमला राईले बताइन । अन्य आठ जनाको अन्य शारीरिक समस्याका कारण शल्यक्रिया गर्न नमिलेको उपचार पाएकाहरुलाई सहज भएपछि घिमिरेको भनाई छ ।
गत वर्ष पनि २० आङ खसेका महिलाहरुको शल्यक्रिया, औषधी उपचार लगायतमा नगरपालिकाको करिब दुई लाखको हाराहारीमा खर्च भएको उनले बताए । यो वर्ष पनि त्यसैको हाराहारीमा खर्च हुने उनको भनाई छ । गत वर्ष पनि बनेपास्थित सिर मेमोरियल अस्प्तालमा उपचार गराइएको थियो । यसका लागि भक्तपुरस्थित सामुदायिक सेवा प्रतिष्ठानले नै सहयोग गर्ने घिमिरे बताउँछन् ।
पहाडी क्ष्ँेत्र भएकाले बढी भारी तथा बलको काम गर्नु पर्ने, उमेर ढल्किएपछि बच्चा जन्माउँने, कब्जियतको समस्या, बङ्शाणुगत कारणले पनि महिलाहरुको आङ खस्ने जिल्ला अस्पतालका डाक्टर रमेश श्रेष्ठको भनाई छ । आङ खस्ने समस्याको विभिन्न चरण हुने भएकाले पहिलो र दोश्रो चरणको उपचार जिल्लामै हुने समेत डा. श्रेष्ठले बताए । आर्थिक वर्ष २०७९/८० मा ५८ जनाले रिङप्रेसरी राखेको जिल्ला अस्पताल दिक्तेलमा रकर्ड छ ।
महिलाहरुको आङ खसेर आफूलाई असहज भए पनि उपचार गर्न नमान्ने गरेको आचार्य र घिमिरेको भनाई छ । कतिपयले परिवारमै समस्या लुकाउँने गरेको, कतिपयले शल्यक्रिया गर्न नमानेको, कतिपयको समय नमिलेकाले उपचार हुन नसकेको उनीहरुको भनाई छ । ‘आङ खसेको भए पनि फकाउँदा–फकाउँदा गर्नु पर्छ ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख खेम आचार्यले भने–‘काउन्सिलिङ गरेरै यत्तिका जना उपचारमा आएका हुन् ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित