समृद्ध राईको जन्म दिन मनाउँने फरक तरिका

  • प्रकाशित मितिः मंसिर १०, २०८०
  • 157 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर १०–हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, साल्तेम्माका १० वर्षीय समृद्ध राईले दशौ जन्म दिवस मनाउँदा केक् काटेनन् । ‘क्यान्डल’ निभाएनन् । ‘बर्थ डे सङ’ गाएनन् । ताली बजाएनन् । चक्लेट बाँडेनन् । आफन्त बोलाएर खानपिन पनि गराएनण््न । त्यति नगर्दा पनि हर्षोल्लाससाथ जन्मोत्सव मनाए । बरु उनले लडेर घाइते भएका गाउँकै किरण राईलाई आर्थिक सहयोग गरे । काठमाडौंको जोरपार्टीस्थित चेल्सी वल्र्ड स्कुलमा कक्षा पाँचमा अध्ययनरत राईले दुर्छिम, डाँडाटोलका किरण राईलाई १० हजार रुपैयाँ सहयोग गरेर जन्मोत्सव मनाएका हुन् ।
मायाराजाहोंछा प्रतिष्ठान अध्यक्ष डिल्ली चाम्लिङले समृद्ध राईले काठमाडौंबाट पठाएको आर्थिक सहयोग राईलाई मङ्सिर ९ गते हस्तान्तरण गरे । ‘समृद्ध राईले हाकेको, ताकेको पूरा होस् । चालेको पाइलामा कहिल्यै ठेस नलागोस्,’ अध्यक्ष राईले भने, ‘शारीरिक रूपमा अशक्त किरण राईको स्वास्थ्यलाभको कामना गर्छु ।’
घाँस झार्न खन्युको रुख चढ्दै गर्दा २०७९ फागुन १० गते लडेका राईको मेरुदण्डमा चोट लागेर शल्यक्रिया गरिएको थियो । आर्थिक सहयोग लिएपछि किरणले समृद्ध राईलाई धन्यवाद र जन्मदिनको शुभकामना दिएका थिए ।
समृद्ध राईले मनाउँदै आएको जन्मोत्सवलाई तीन तरिकाले अथ्र्याउन सकिन्छ । ‘सर्वप्रथम जन्मोत्सवलाई समेत सामाजिक उत्तरदायित्वसँग जोडेको देखिन्छ । हामीले मनाउँने जन्मोत्सवलाई निजीमात्रै नभएर, सामाजिक हितमा सोच्नुपर्छ भनेर सिकाउँछ,’ मुन्दुम अध्येता भोगीराज चाम्लिङको भनाइ छ, ‘मै खाऊँ, मै लाऊँ, मोजमस्ती मै गरूँ भन्ने पुँजीवादी अर्थात् व्यक्तिकेन्द्रित धारणालाई अलिकति फराकिलो तरिकाले सोच्न बाध्य बनाएको छ ।’
सामाजिक लाभ र हितका निम्ति अर्थात् आफूमात्रै गरिखाऊँभन्दा पनि सबैका हितका लागि सामूहिक प्रयत्न गरूँ भन्ने शिक्षा दिएको छ । मुन्दुम अध्येता चाम्लिङले थपे, ‘कमाउने कुरामात्रै होइन, सामाजिक भलाइका लागि वितरण गर्नु पनि महत्वपूर्ण हो ।’
बालबालिका भनेको काँचो माटो हुन् । ‘उनीहरूलाई जे सिकाइन्छ, त्यही अवलम्बन गर्छन्,’ उनले प्रस्ट्याए, ‘जन्मोत्सवमा गरिने सानोतिनो सहयोगबाट पनि छोराछोरीलाई मार्गदर्शन गराउन सकिन्छ भन्ने समृद्ध राईका आमाबाबुले दिन खोजेको गतिलो शिक्षा पनि हो ।’
समृद्ध राईले सालिन्दा मनाउँदै आएको फरक प्रकृतिको जन्मोत्सव नजिकबाट नियाल्नेले भन्ने गरेका छन्, ‘यसरी मनाइने जन्मोत्सव उदाहरणीय, सराहनीय, अनुकरणीय र अनुशरणीय छ ।’
समृद्ध राईले कक्षा १ देखि सालिन्दा आर्थिक सहयोग गर्दै आएका छन् । राईले जन्मदिनकै अवसर पारेर चितवनको टाँडीमा रहेको ‘सानोघर’ लाई ७ हजार (२०७६), ‘ज्योतिका साथीहरू’ जालपा खोटाङलाई पनि ७ हजार (२०७७), जीपी कोइराला मेमोरियल क्याम्पस काठमाडौंका सहायक क्याम्पस प्रमुख मोहनराज राईको उपचार सहयोगार्थ ८ हजार
(२०७८) र मुन्दुम महाज्ञान केन्द्र (चाबहिल, काठमाडौं) लाई ९ हजार (२०७९) सहयोग गरिसकेका छन् ।
चाडबाडमा पाएको दक्षिणा, कतिपयले माया गरेर चक्लेट, बिस्कुट खानू है भन्दै दिएको पैसा ‘समृद्ध राई’ नामक खुत्रेकेमा संकलन गरिन्छ । सालिन्दा जन्मोत्सवको अघिल्लो दिन खुत्रेके फुटाइन्छ । ‘बाँडेर खानुपर्छ है भन्ने सवक सिकाउन जन्मोत्सवमा सहयोग गर्न सिकाइरहेका छौं,’ समृद्ध राईकी आमा रिंकु राईले सुनाइन्, ‘विगतका वर्षहरूमा बर्थ डे मनाउँदा केक काटिन्थ्यो, आफन्त, इष्टमित्र र छिमेकी बोलाएर खानपिन गराइन्थ्यो । खानपिन गर्ने÷गराउने खर्च कटौती गरेर समृद्धको बर्थ डेका दिन सामाजिक काममा लगाउने पारिवारिक सल्लाह ग¥यौं । पाँच वर्षदेखि यस्तो अभ्यास थालेका हौं ।’
पञ्चसेर राई (समृद्ध राईका हजुरबुवा) को गत भदौमा निधन भएकाले समृद्ध राईको दसौं जन्मोत्सवमा ‘केक’ काटिएन । ‘क्यान्डल’ निभाइएन । ‘बर्थ डे सङ’ गाइएन । ताली बजाइएन । चक्लेट बाँडिएन । आफन्त बोलाएर खानपिनसमेत गराइएन ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित