‘दलित जनप्रतिनिधिलाई काम गर्न चुनौति’

  • प्रकाशित मितिः आश्विन १७, २०८०
  • 800 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज १७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी दलित महिला सदस्य रेखा रम्तेल विहान १० बजे नै कार्यालय पुग्छिन् । अनि दिनभर जनताको काम गरेर फर्किन्छन् । यसरी नै उनको दैनिकी चलेको छ । उनी गत स्थानीय तहको चुनावमा एमालेका तर्फबाट दलित महिला वडा सदस्यमा विजयी भएकी हुन् । निर्वाचित हुनसाथ उनी जनताको सेवामा तल्लीन रहेको उनको भनाई छ ।
उनको राजनीतिप्रतिको चासो भने त्यत्ति थिएन । तर आवश्यकताले गर्दा राजनीतिमा होमिएको उनले बताइन् । पछिल्लो राजनीतिक व्यवस्थाले गर्दा आफूलाई अवसर मिलेको समेत उनको भनाई छ । ‘पहिला गैरसरकारी संस्थाहरुमा काम गर्थे, त्यतिखेर राजनीति गर्ने चासो थिएन ।’ उनले भनिन्–‘तर पछिल्लो राजनीतिक व्यवस्थाले महिलाहरुलाई अनिवार्य रुपमा समावेश गर्नु पर्ने भएपछि त्यस ठाउँमा दाबी गरेकी हुँ ।’
आफू जनप्रतिनिधि भएपछि महिलाहरुलाई राजनीतिमा सहज वातावरण नभएको अनुभव सुनाइन् । महिला भएकै कारण समाजले हेर्ने दृष्टिकोण, घर व्यवस्थापन, सामाजिक चुनौतिहरु पनि आइपर्ने अनुभव सुनाइन् । ‘महिला र पुरुषको राजनीतिमा तुलना गर्ने हो भने आकाश पात्तालको फरक पर्ने रहेछ ।’ उनले भनिन्–‘घर व्यवस्थापन, सामाजिक पाटो जस्ता समस्याहरु धेरै आइपर्ने रहेछ ।’
जातीय भेदभावको समस्या भने आफू जनप्रतिनिधि भएपछि अनुभूति गर्न नपाएको बताइन् । जनप्रतिनिधि हुनु भन्दा अघि कुनै सामाजिक कार्यमा जाँदा आफूलाई विभेद गरेको तर जनप्रतिनिधि भएपछि भने त्यस्तो नभएको सुनाइन् । ‘राजनीतिक पहुँच विस्तार भएपछि विभेद पनि हट्दै जाने रै’छ ।’ उनले भनिन्–‘यो विषयलाई हेर्दा दलित महिलाहरु राजनीतिमा होमिनु पर्ने रै’छ भन्ने लागेको छ ।’
राजनीतिको मुल धारमा आउँनका लागि राजनीतिक दलहरुले विश्वास र अवसर दिलाउँनु पर्ने बताइन् । यसका साथसाथै समाजले पनि आफ्नो समुदायको जनप्रतिनिधिलाई जिताउँन भूमिका निर्वाह गर्नु पर्ने जनाइन् । अहिलेको अवस्थामा दलित समुदाय राजनीतिमा मात्र होइन, शिक्षाको क्षेत्रमा पनि पछि परेकाले यसका लागि स्थानीय तहले ध्यान दिनु पर्ने उनको धारणा छ । ‘दलित समुदाय हरेक क्षेत्रमा पछि परेका छन् ।’ उनले भनिन्–‘पढेर हरेक क्षेत्रमा जानु पर्ने रहेछ, यसले जातीय विभेद पनि कम हुने रै’छ भन्ने बुझेकी छु् ।’
उनी निर्वाचित भएपछि महिला उद्यमीहरुसंगको समन्वय गरेर बासबाट सामान उत्पादन गर्ने तालिम, अपाङ्ग असहायलाई घरभेट कार्यक्रम, विभिन्न योजनाहरुको अनुगमन, जनताको गुनासो सहज गर्न सहयोग, बाबु–आमा विहीन बालकालिकालाई नगद १५ सय र कापी कलम प्रदान, महिला, दलित, अपाङग, जेष्ठ नागरिकलाई आर्थिक सहयोगका बजेट विनियोजन, सडक स्तरोन्नति लगायतका काममा आफ्नो भूमिका रहेको बताइन् ।
यसबाहेक हजार दिन आमा समूहलाई ट्रनेल वितरण, महिलाहरु राजनीतिमा ल्याउँन ‘दुश्प्रचार द्वेषपूर्ण अभिव्यक्ति अहिल्यैबाट रोकौं’ विषयक तालिम समेत आयोजना गरेको बताइन् । दलित महिला केन्द्र नेपालले सञ्चालन गरेको सिलिड्स कार्यक्रम अन्तरगत उक्त तालिम भएको उनले सुनाइन् । दलित महिला केन्द्र नेपालले सिलिड्स कार्यक्रम अन्तरगत महिला जनप्रतिनिधिहरुलाई क्षमता विकास गराउँने, मुल धारको राजनीतिमा समावेश गराउँने लगायतका कार्यक्रम गर्दै आएको उनले जनाइन् । यसका लागि सिलिड्स कार्यक्रम अन्तरगत मेन्टरिङ भइरहेको उनले बताइन् ।
राजनीतिमा पुरुषको भन्दा महिलाको महत्वपूर्ण भूमिका रहने उनले अनुभव सुनाइन् । महिलाको समस्या, घर परिवारको समस्या लगायतका विषयमा बढी संवेदनशील हुनु पर्ने वाध्यता भएकाले महिलाहरु राजनीतिमा अनिवार्य रुपमा सहभागी हुनु पर्ने उनको धारणा छ । ‘राजनीतिमा पुरुष सहभागी हुनु र महिला सहभागी हुनुमा धेरै फरक पर्दो रहेछ ।’ उनले भनिन्–‘महिला बढी नै संवेदनशील भइदो रहेछ, एक जना महिला राजनीतिमा सहभागी हुदा परिवार मात्र होइन समाजलाई नै चेतना विकासमा प्रभाव पार्दो रहेछ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित