सामाजिक सद्भाव कायम राख्ने प्रतिबद्धता

  • प्रकाशित मितिः आश्विन ११, २०८०
  • 425 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ११–जिल्लामा पछिल्लो समय सामाजिक सद्भाव भड्किदै गएकाले त्यसलाई नियन्त्रण गर्न जिल्लास्थित राजनीतिक दलहरुले प्रतिबद्धता जनाएका छन् । असोज १० गते जिल्ला प्रशासन कार्यालय खोटाङमा भएको सर्वदलीय छलफलमा सामाजिक सञ्जाल फेसबुकमा सामाजिक सद्भाव भड्काउँने खालको स्टाटस नलेख्ने, नलेखाउँने र द्वन्द्व न्युनीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
पछिल्लो साता राजनीतिक तथा अन्य विषयमा फेसबुकमार्फत एक अर्का विरुद्ध गालीगलौज गर्ने, बदनाम गर्ने, धम्की दिने लगायतका गतिविधि हुन थालेपछि प्रशासनको समन्वयमा सर्वदलीय बैठक आव्हान गरिएको थियो । सामाजिक सञ्जालमा तथानाम लेख्ने, एकले अर्कोलाई सिध्याउँने खालको गतिविधि समेत सुरु गरिएकाले सर्वदलीय बैठक राखिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।
असोज ८ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको मसानेडाडाँमा गोरु काटेर भोज खाएको आरोपमा चार जनालाई पक्राउ गरेको विषयमा प्रहरी प्रशासन विरुद्ध गाली गलौज गरिएको, गत असोज ४ गते जिल्ला अस्पताल अनुगमनको क्रममा कोशी प्रदेशका खानेपानी, सिचाई, उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोलाई कालोझण्डा देखाउँनका साथै त्यस घटनामा भएको झडपको विषयमा प्रहरी प्रशासन विरुद्ध सामाजिक सञ्जालमा तथानाम गाली गलौज गरिएको लगायतका विषयमा छलफल भएको प्रजिअ सुनारले बताए । अब आइन्द यस्ता खाले गतिविधि रोक्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्ने सहमती भएको सुनारको भनाई छ । पहिचान पक्षधरहरुले भने राजनीतिक दल सहितको सहभागितामा आन्दोलन रोक्ने षड्यन्त्रपूर्ण निर्णय गरिएको आरोप लगाएका छन् ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई, माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङका संयोजक दिपक पाण्डे, जनता समाजवादी पार्टीका अध्यक्ष पिके खम्बू, राप्रपाका जिल्ला सदस्य गंगा श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य दधि श्रेष्ठ, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय समितिका अध्यक्ष फुर्वा शेर्पा लगायत सहभागी थिए ।

तस्बिर सौजन्य : दमन राई

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित