शिक्षक शिक्षा विधेयक २०८० को विरुद्ध आन्दोलनमा, पठन–पाठन प्रभावित

  • प्रकाशित मितिः आश्विन ३, २०८०
  • 515 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ३–शिक्षा विधेयक २०८० को विरुद्ध आन्दोलन गर्न काठमाडौं गएपछि पठन पाठन प्रभावित भएको छ । जिल्लास्थित शिक्षकहरुको विभिन्न पेशागत संघ÷संगठनका प्रतिनिधिहरुको आह्वानमा आन्दोलनमा असोज २ गते काठमाडौं गएपछि पठन–पाठन प्रभावित भएको हो ।
जिल्लास्थित शिक्षकहरुको विभिन्न पेशागत संघ÷संगठनका प्रतिनिधिहरुले बुधबारदेखि जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गरेर आन्दोलनमा जान आह्वान गरेको थियो । मङ्गलबार माइतीघर मण्डलाको प्रदर्शनमा जिल्लाका करिब पाँच सय शिक्षक सहभागी रहेको नेपाल शिक्षक महासंघ खोटाङका अध्यक्ष मिनकुमार दाहालको दाबी छ । आन्दोलनमा नेपाल शिक्षक संघका मेजर राई, नेपाल राष्ट्रिय शिक्षक संगठनका टंक कटवाल, नेपाल शिक्षक महासंघ खोटाङका मिनकुमार दाहाल, नेपाल शिक्षक परिषदका कृतमान राई, प्रगति शिक्षक संगठनका गोविन्द कटवाल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका कृष्ण गुरुङ, राष्ट्रिय शिक्षक समाज नेपालका उर्मिला राई र नेपाल विद्यालय कर्मचारी परिषदका गोपाल श्रेष्ठले संयुक्त विज्ञप्ती जारी गरी सामुदायिक विद्यालय बन्द गरी आन्दोलनमा सहभागी हुन आह्वान गरेका हुन् ।
‘भदौ २७ गते संघीय सदनमा दर्ता भएको विद्यालय शिक्षासम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले शिक्षक, विद्यालयका कर्मचारी बालिविकास सहजकर्ता लगायत पेशाकर्मीहरुको ट्रेड युनियन अधिकार, शिक्षकका पेशागत बृत्तिविकास, पेशागत सुरक्षा लगायतका समस्याहरु र नेपालको संविधान २०७२ को भाग ३ धारा ३१ को शिक्षासम्वन्धी हकमा व्यवस्था भएका अनिवार्य र निःशुल्क शिक्षा प्राप्त गर्ने मौलिक हक र धारा ३९ को बालबालिकासम्वन्धी हकमा उल्लेखित प्रारम्भिक बालबाविकास र बालसहभागिताको हक समेत निमुट पार्दै सार्वजनिक शिक्षालाई ध्वस्त पारी शिक्षामा ब्यापक निजीकरण, ब्यापारीकरण र व्यवसायीकरण गर्दै पञ्चायत कालको शिक्षा ऐन २०२८ भन्दा कालो शिक्षा विधेयकको संज्ञा दिदै त्यसको विरुद्ध आन्दोलित हुनु परेको’ विज्ञप्तीमा उल्लेख छ । जिल्लामा मावि ९३, १–८ आधारभूत ६७ र १–५ तीन सय ३७ सामुदायिक विद्यालयमा दुई हजार दुई सय शिक्षक, चार सय ३५ विद्यालय कर्मचारी र बालबाविस केन्द्रमा तीन सय ६७ कार्यरत छन् । सरकारले विधेयक फिर्ता नलिएसम्म जिल्ला नफिर्ने दाहालले बताए ।
विद्यालयको पठन–पाठन प्रभावित हुने गरी शिक्षकहरु आन्दोलनमा सहभागी भएपछि जिल्लामा आन्दोलनमा सहभागी शिक्षकहरुप्रति आलोचना सुरु भएको छ । ‘केही दिनका लागि आन्दोलन गर्नु ठिकै होला तर विद्यालयको पठन–पाठनै प्रभावित हुने गरी आन्दोलन भइरहे अभिभावकहरुको आन्दोलन चाहिँ झनै खतरनाक हुन सक्छ ।’–खोटेहाङ गाउँपालिकाका शिक्षा समिति संयोजक वसन्त राईले भने ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित