‘पढाई बिनाको जिन्दगी, जिन्दगी होइन रहेछ, त्यसैले पढ्न थालेकी हुँ

  • प्रकाशित मितिः भदौ १३, २०८०
  • 1177 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, भदौ १३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बसोबास गर्ने २० वर्षीया दीव्या विश्वकर्मा आफू स्कुल जानुअघि बच्चालाई स्कुल पु¥याउँछिन् । दिक्तेलस्थित माउण्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कुलको कक्षा नर्सरीमा पढ्ने तीन वर्षीया एन्ड्री लकान्द्रीलाई स्कुल पु¥याउँछिन् अनि आफू पढ्ने सरस्वती मावि पुग्छिन् । कक्षा १० मा अध्ययनरत उनी आफू पढ्दै बच्चालाई पनि पढाइरहेकी हुन् ।
उनी भोजपुर नगरपालिका भैसी पङ्खा घर भई दिक्तेल बजारको शरद ज्वलरीमा कालीगढको काम गर्ने श्रीमान अशोक लकान्द्रीकी श्रीमती हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाडाँस्थित मावलीमा बसेर त्यहाँकै विद्योदय माविमा कक्षा १० मा पढ्दा–पढ्दै २०७६ साउन २५ गते विवाह भएपछि पढ्न छाडेकी थिइन् । यतिखेर नपढी नहुने रहेछ भन्ने थाहा पाएपछि पढ्न थालेकी विश्वकर्माको भनाई छ । ‘पढ्दा–पढ्दै विहे गरियो ।’ दीव्याले भनिन्–‘छोरीको भविष्यकै लागि पनि आफू पढेर केही गर्ने सोच बनाएकी छु ।’ उनी थप्छिन्–‘छिटो विहे गरेर बाबु–आमाको सपना पनि चुकाएकी छु, अब त्यो सपना मेरी छोरीमा पूरा गर्ने गर्छु ।’
पढाई बिनाको जिन्दगी अपूरो–अधुरो हुने भएकाले पढाई सुरु गरेकी उनको भनाई छ । ‘जिन्दगीको एउटा अंश नै पढाई रहेछ ।’ उनले भनिन्–‘पढाई बिनाको जिन्दगी, जिन्दगी होइन रहेछ, त्यसैले पढ्न थालेकी हुँ ।’
परिवारमा जस्तो सुकै अवस्था आए पनि पढाईलाई निरन्तरता दिने उनले बताइन् । ‘कहिलेकाहिँ बच्चा विरामी हुन्छ, कहिलेकाहिँ अरु नै समस्या आइपर्छ जेजस्तो आइपरे पनि पढ्नै पर्छ भन्ने अठोट लिएकी छु ।’ उनले थपिन्–‘राम्रो पढेर सरकारी जागिर खाने मेरो धोको छ ।’
उनको पढाईमा घर परिवारले पनि साथ दिएको दीव्याको भनाई छ । ‘घर सल्लाह गरेरै मलाई पढाउँनका लागि सासुआमा सहयोग गर्न भोजपुरबाट आउँनु भएको छ ।’ उनले भनिन्–‘यसरी सहयोग हुँदा पढ्न थप हौसला मिलेको छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित