''महिलालाई राजनीतिमा अझै सहज छैन’

  • प्रकाशित मितिः भदौ ६, २०८०
  • 1178 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, भदौ ६–हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमकी गमिता राईले राजनीतिमा होमिन्छु भन्ने लागेको थिएन । सुरुमा २०५०÷५१ सालतिर विद्यार्थी कालमा अनेरास्ववियूमा आवद्ध भएपछि उनको राजनीतिक यात्रा सुरु भएको उनी बताउँछिन् । ‘सुरुमा मैले राजनीतिमा लाग्छु भनेर सोचेकी थिइन ।’ राईले भनिन्–‘तर आवश्यकताले राजनीति नगरी नहुने भयो ।’
संघर्ष नगरी महिला मुक्ति असम्भव छ भन्ने पहिले नै थाहा थियो । वर्तमान अवस्थामा समेत महिलाहरुको अवस्था पूर्ण रुपले परिवर्तन हुन नसक्नुले अझै संघर्ष आवश्यक रहेको उनको तर्क छ । ‘गणतन्त्र, संघीयता, समावेसी लगायतका अन्य थुप्रै उपलब्धिहरुले महिलाहरुका लागि ठूलै अवसर पाइयो भनिन्छ, तर भनेजस्तो भएको छैन, अझै संघर्ष गर्नु पर्ने देखिन्छ ।’ राईले भनिन्–‘हामी र हाम्रो नेतृत्वको विचार, व्यवहार परिवर्तन हुनै बाँकी छ ।’
महिलाका लागि राजनीतिक व्यवस्था मात्र नभई पारिवारिक समस्याले पनि अल्झाउँने गरेको राईको अनुभव छ । ‘भनेको बेला हिड्न नपाउँनु, घरपरिवारको चित्त बुझाएर, घरको काम सकेर हिड्नुपर्ने हुन्छ ।’ राईले भनिन्–‘तर पनि आवश्यकताले गर्दा राजनीतिमा लागियो, राजनीति नगरी महिलाको मुक्ति असम्भव छ ।’
समाजमा अहिले पनि महिला हिंसा कायमै रहेको उनको भनाई छ । तर विभिन्न कारणले नखुल्ने गरेको उनको तर्क छ । ‘महिला हिंसाका घटना धेरै घट्छन्, तर विभिन्न कारणले बाहिर आउँदैन ।’ उनले भनिन्–‘यस्ता खाले सामाजिक अपराध उन्मुलनका लागि सबै लाग्नुपर्छ ।’
आफू निर्वाचित भएपछि पछाडि पारिएका महिलाको पक्षमा निरन्तर लागिपरिरहेको बताइन् । महिला आमा समूहहरुको संस्थागत विकास लगायतका लागि पहल गरिरहेको उनले सुनाइन् । एकीकृत रानीबुङ आमा समूहको फर्निचर व्यवस्थापन, माहुरबुङ आमा समूह दर्ता, लुभुखहरे बेसी टोल आमा समूह दर्ता, कुटानी–पिसानी मिल, घुम्ती कोष बिउपूँजीका लागि नगरपालिकामा पहल गरिएको उनले जनाइन् । यसबाहेक ओडारे–लाहाबुङ–कोदाबार–सुनकोसी ग्रामीण सडक, हलेसी–सेलुवाखोला–बर्बोट–चाम्लिङडाडाँ–तीन चुलो ढुङ्गा सडक, सरस्वता प्रावि भवन निर्माण, गैँडाखर्क ग्रामीण सडक लगायतमा पनि आफ्नो सक्रिया रहेको उनको भनाई छ ।
महिलाको नेतृत्वमा बनेको उपभोक्ता समूहले राम्रो काम गर्न सक्ने रहेछ भन्ने उदाहरण प्रस्तुत गर्न पाउँदा आफूलाई गौरव लागेको समेत उनले सुनाइन् । तर पितृशतात्मक प्रबृत्तिका मानिसहरु अझै पनि समाजमा रहेकाले उनीहरुको धारणा विकास गर्नु पर्ने उनको भनाई छ । महिलाहरुले केही गर्न खोज्यो भने पुरुषहरुले निरुत्साहित गर्ने गरेको बताइन् । ‘महिलाहरुले केही गर्न भनेर योजना माग गर्दा किन चाहियो महिलालाई ? भन्ने गरिन्छ ।’– उनले भनिन् ।
यसका लागि स्थानीय सरकारले समेत चेतना विकासका लागि योजना बनाउँन जरुरी रहेको उनको तर्क छ । ‘अवशेषको रुपमा रहेको पितृशतात्मक सोचले गर्दा समाज अझै पनि पछिपरिहरको छ ।’ उनले भनिन्–‘जबसम्म चेतनाको स्तर उक्सदैन तबसम्म समाज विकास असम्भव छ ।’
महिला नेतृत्व नै भए पनि स्थानीय सरकार महिलाको पक्षमा उदासीन भएको आरोप लगाइन् । न्यायिक समितिको सन्दर्भमा समेत विचारको हिसावले न्यायिक कार्य सम्पादन गर्ने गरेको आरोप लगाइन् । ‘निश्पक्ष रुपमा न्याय निरुपण भएको पाइदैन ।’ उनले भनिन्–‘विचारका आधारमा न्यायिक समितिले काम गर्ने गरेको उदाहरणहरु छन् ।
समाज परिवर्तनका लागि महिलाहरुको राजनीतिक सहभागिता बढाउँनु पर्ने उनको बुझाई छ । महिलाहरुले पनि राजनीति गर्न सक्छन् र अब्बल कार्यक्षमता भएका हुन्छन् भन्ने चेतना जगाउँनका लागि पनि राजनीतिमा महिलाहरु सहभागिता बढाउँनु पर्ने उनको धारणा छ । यसका लागि पनि आफूले राजनीतिमा सक्रिय रहेको उनको भनाई छ । ‘म बुझेरै राजनीतिमा लागेकी हो ।’ उनले भनिन्–‘जतिसक्छु समाज परिवर्तनका लागि लागिरहने छु ।’

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित