पत्करु आधारभूत विद्यालयको पठन–पाठन नयाँ भवनमा

  • प्रकाशित मितिः श्रावण २७, २०८०
  • 209 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २७– केपिलासगढी गाउँपालिका–१ फेदीको पत्करु आधारभूत विद्यालयको जीर्ण भवनमा जोखिमले भइरहेको पठन–पाठन अब नयाँ भवनबाट सुरु भएको छ । जीर्ण भवनमा पठन–पाठन भइरहेको गुनासोपछि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतको टोलीको अनुगमनपछि नयाँ भवनमा पठन–पाठन सुरु भएको हो ।
विद्यालयकै शिक्षक प्रकाश बमजनले फेसबुकमा जीर्ण विद्यालयको फोटो राखेपछि गत साउन २५ गते गाउँपालिका अध्यक्ष समीर राई, उपाध्यक्ष गुरुराज राई र शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालको टोलीले अनुगमन गरी नयाँ भवनमा सार्न निर्देशन गरेका थियो । अनुगमनको क्रममा आर्थिक वर्ष २०७६÷७७ सालमा निर्माण गरिएको भूकम्प प्राधिकरणको तीन कोठे भवन बनेको र २०७८÷७९ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको चार कोठे भवन निर्माणाधीन अवस्थामा रहेको उपाध्यक्ष राईले बताए । भवन हुदा हुदै जीर्ण भवनबाट पठन–पाठन भएकाले नयाँ भवनमा सार्न निर्देशन गरिएको गाउँपालिका अध्यक्ष समीर राईले बताए । निर्माणाधीन भवन पनि एक महिनासम्म नसकिए विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअलाई विभागीय कारबाही गर्ने राईको भनाई छ । भूकम्प प्राधिकरण अन्तरगत बनेको तीन कोठे भवनमा तत्काल सार्न निर्देशन दिइएको विद्यालयका प्रअ देशकुमार राईले बताए । निर्देशन अनुसार तीन कोठालाई बीचमा बारेर (पार्टेसन गरेर) छ कोठा बनाएर साउन २६ गतेदेखि नै सुरु गरिएको प्रअ राईले बताए ।
भूकम्प प्राधिकरणको तीन कोठे भवनमा निर्माणाधीन चार कोठे भवनको निर्माण सामग्री राखिएको पाइएको थियो । ३६ लाख रुपैयाँको लागतमा त्यही आर्थिक वर्षमा सकिनु पर्ने चार कोठे भवन अझै सकिएको छैन । उक्त भवन एकराम राई अध्यक्ष रहेको विद्यालय व्यवस्थापन समितिले निर्माण गरेको हो । एकराम उक्त वडाका सहायक कर्मचारी पनि हुन् ।
उक्त विद्यालयमा एक सय १५ विद्यार्थी छन् भने प्रावि तहको तीन दरबन्दी, एक राहत र आधारभूत तहका दुई राहत कोठका गरी छ शिक्षक कार्यरत रहेको राईले बताए । उक्त विद्यालयमा शैक्षिक गुणस्तर पनि राम्रो हुनका साथै विद्यार्थी संख्यामा पनि अन्यको तुलनामा राम्रै भएको तर विद्यालय व्यवस्थापन समितिको कारण समस्या आएको स्थानीयको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित