खोटाङमा लम्पी स्किन नियन्त्रण भएन, मर्नेको संख्या बढ्दै

  • प्रकाशित मितिः श्रावण १८, २०८०
  • 330 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १८–जिल्लामा लम्पी स्किन नियन्त्रण हुन सकेको छैन । आवश्यक भ्याक्सिन, औषधि उपचार लगायतको अभावमा नियन्त्रण हुन नसकेको हो । जिल्लामा करिब पाँच सय बढी गाई–गोरु तथा भैसी मरिसकेका छन् ।
सबैभन्दा बढी दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गाई–गोरु मरेका छन् । बैशाख पहिलो सातादेखि फैलिएको लम्पी स्किनले दुई सय ७३ गाई–गोरु मरेको पशु प्राविधिक मणिराज मगरले बताए । उक्त पालिकामा करिब २३–२४ सय गाई–गोरुमा संक्रमण देखिएको छ । पछिल्लो समय भैसीमा पनि यो रोग देखिन थालेको छ । खासगरी चिसो क्षेत्रका गाई–गोरु तथा भैसीलाई बढी संक्रमण देखिनुका साथै मृत्यु पनि त्यही क्षेत्रको भएको मगरले सुनाए । अझै पनि संक्रमणको संख्या तिब्र छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पनि थुप्रै गाई–गोरु मरेका छन् । पाँच हजार दुई सय ५७ संक्रमितमध्ये ८५ गाई–गोरु मरेको छ । नगरपालिकाका पशु शाखाका प्रमुख गणेश आचार्यका अनुसार चार हजार ४२ संक्रमितको उपचार गरिएको छ । यसमध्ये दुई हजार छ सय ३२ गाई–गोरु पूर्ण रुपमा निको भएका छन् भने एक हजार पाँच सय १० गाई–गोरु निको हुन बाँकी छ ।
ऐसेलुखर्क गाउँपालिकामा ५९ गाई–गोरु मरेका छन् । उक्त पालिकामा १७ सय ६ वटा गाई–गोरुमा संक्रमण देखा परेको पशु शाखा प्रमुख प्रमोद राजभण्डारीले बताए । पछिल्लो दुई हप्तामा यो रोगको प्रकोप घट्दो रहेको राजभण्डारीले जनाए ।
ह्लेसी तुवाचुङ नगरपालिकामा ४५ गाई–गोरु मरेका छन् । पशु शाखा प्रमुख कुबेश राईका अनुसार उक्त नगरपालिकामा छ सय ५० गाई–गोरुको उपचारपछि निको भएको छ । खोप तथा उपचारपछि अन्य पनि निको हुने क्रममा देखिएको राईले बताए ।
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुर सम्पर्क केन्द्र दिक्तेलको रेकर्ड अनुसार जन्तेढुङ्गा गाउँपालिकामा १८ गाई–गोरु र एउटा भैसी मरेको छ । उक्त पालिकामा ५० गाई–गोरु र एउटा भैसीमा संक्रमण देखिएको थियो । त्यस्तै रावाबेसी र साकेला गाउँपालिकामा सात÷सात वटा गाई–गोरु मरेका छन् । साकेलामा २६ संक्रमित भएको छ भने रावाबेसीमा नौ गाई–गोरुमा संक्रमण देखिएको छ । बराहापोखरी गाउँपपालिकामा ३१, केपिलासगढी गाउँपालिकामा १५ र खोटेहाङ गाउँपालिकामा तीन गाई–गोरु संक्रमित भएको छ ।
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुर सम्पर्क केन्द्र दिक्तेलका प्रमुख चन्द्रकिशोर यादवका अनुसार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले केही औषधी पठाएको र त्यसपछि फेरि भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुर मार्फत केही औषधी पठाएको थियो । त्यसबाहेक संघीय मन्त्रालयले प्रत्येक पालिकालाई एक लाख रुपैयाँका दरले रकम पठाए पनि जिल्लाका दश पालिकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला र रावाबेसी गाउँपालिकाले मात्र औषधी खरिदमा खर्च गरेको यादवले बताए । यो रोग भाइरसबाट सर्ने भएकाले नियन्त्रणका लागि भ्याक्सिनको व्यवस्था गर्नु पर्ने यादवको भनाई छ । ‘भ्याक्सिन नहाली यो नियन्त्रण हुन सक्दैन ।’ यादवले भने–‘यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले नै पहल गर्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित